शुक्रबार, बैशाख ०७, २०८१

उपनिर्वाचन जितेर सरकारका पक्षमा जनमत छैन भन्ने सन्देश दिनुपर्छ : देउवा

पोखरा । नेपाली काँग्रेसका सभापति शेरबहादुर देउवाले काँग्रेसले उपनिर्वाचन जितेर सरकारका पक्षमा जनमत छैन भन्ने सन्देश राष्ट्रिय तथा अन्तर्राष्ट्रिय क्षेत्रमा पु¥याइने बताएका छन्।

मङ्सिर १४ गते हुने प्रतिनिधिसभा सदस्यको उपनिर्वाचनको प्रचारप्रसारअन्तर्गत कास्की क्षेत्र नं २को पोखरा महानगरपालिका–१६ मा आयोजित चुनावी सभामा देउवाले वर्तमान सरकारले एकपछि अर्को गर्दै जनताका हकअधिकार कुण्ठित पारेको बताए ।

उनले सत्तारुढ नेकपाको सरकारले न्यायालय, स्वतन्त्र प्रेसका साथै संवैधानिक अङ्गमा हस्तक्षेप गरिहेको आरोप लगाए । सभापति देउवाले भने “जनताले थेग्नै नसक्ने गरी कर वृद्धि गर्ने सरकारको कदमलाई सच्याउनका लागि यस निर्वाचनमा काँग्रेसले जित्नुको विकल्प छैन।”

सभापति देउवाले कास्की क्षेत्र नं २बाट त्यागी र सादगी नेता खेमराज पौडेललाई नेपाली कांग्रेसले उम्मेदवारका रुपमा अघि सारेर उनीप्रति न्याय गरेको बताए । उनले भने “पौडेललाई न्याय दिने जिम्मेवारी कास्कीका जनताको काँधमा आएको छ।”

काँग्रेस वरिष्ठ नेता रामचन्द्र पौडेलले जनतालाई धोका दिने धोकेवाज कम्युनिष्ट कहिल्यै पनि जनताको पार्टी बन्न नसक्ने आरोप लगाएका छन् । उनले भने “अनेक पुलिन्दा र भ्रम छरेर अघिल्लो चुनाव जिते पनि अब कम्युनिष्टलाई जनताले राम्रोसँग बुझिसकेका छन् ।” काँग्रेस उम्मेदवार पौडेललाई अत्यधिक मत दिएर जिताउन उनले मतदातालाई आग्रह समेत गरे।

काँग्रेस महामन्त्री डा शशाङ्क कोइरालाले कम्युनिष्ट सरकार मुलुकलाई भेनेजुयला र रुवाण्डा बनाउन लागि परेको आरोप लगाए । सरकार मुलुक र जनताको हितका साथै लोकतन्त्र, संविधान, सङ्घीयता, गणतन्त्र, समावेशिता कुनैको हितमा नरहेको उल्लेख गर्दै महामन्त्री कोइरालाले यसलाई सच्याउनका लागि पनि यो चुनाव काँग्रेसले जित्नुपर्ने बताएका हुन्।

केन्द्रीय सदस्य डा. रामशरण महतले काँग्रेसले दुःख गरेर बनाएको राज्यकोषमा वर्तमान सरकार ब्रम्हलुट मच्चाइ रहेको आरोप लगाए।

युवा नेता गगनकुमार थापाले स्व रवीन्द्र अधिकारीको सपना पूरा गर्नका लागि नेकपालाई भोट दिने हो भने त्यो उनी प्रतिको अपमान हुने बताएका छन् । नेपाली राजनीतिमा इमान्दार र निष्ठावान नेताको खाँचो रहेको अवस्थामा पौडेललाई जिताएर त्यसको सन्देश देशभरी दिनुपर्ने नेता थापाले उल्लेख गरे। रासस