शनिबार, बैशाख १२, २०८३

नवनियुक्त मन्त्रीलाई राष्ट्रपति भण्डारीले गराइन् शपथ

काठमाडौं। नवनियुक्त मन्त्रीहरुले पद तथा गोपनीयताको शपथ लिएका छन्। बिहीबार राष्ट्रपति भवन शितल निवासमा राष्ट्रपति विद्यादेवी भण्डारीले नवनियुक्त मन्त्रीहरुलाई पद तथा गोपनीयताको शपथ दिलाएकी हुन्।

प्रधानमन्त्री केपी ओलीले बुधबार दुई राज्यमन्त्रीसहित आठ मन्त्रीलाई पद मुक्त गरेका थिए भने तीन राज्यमन्त्रीसहित नौ मन्त्रीलाई नियुक्त गरेका थिए।

बिहीबार राष्ट्रपति भण्डारीले संघीय मामिला तथा स्थानीय विकास मन्त्री हृदयेश त्रिपाठी, कृषि मन्त्री घनश्याम भुसाल, उद्योग मन्त्री लेखराज भट्ट, श्रम तथा रोजगार मन्त्री रामेश्वर राय यादव, भौतिक पूर्वाधार मन्त्री वसन्तकुमार नेम्वाङ र महिला बालबालिका तथा जेष्ठ नागरिक मन्त्री पार्वत गुरुङलाई पद तथा गोपनीयताको शपथ दिलाएकी हुन्।

यसैगरी तीन राज्यमन्त्रीहरुलाई भने प्रधानमन्त्री केपी ओलीले शपथ गराएका थिए। बुधबार प्रधानमन्त्री ओलीले उद्योगमन्त्री मातृका यादव, कृषि मन्त्री चक्रपाणि खनाल, भौतिक पूर्वाधार मन्त्री रघुवीर महासेठ, संघीय मामिला तथा स्थानीय विकास मन्त्री लालबाबु पण्डित, श्रम तथा रोगजार मन्त्री गोकर्ण विष्ट र महिला बालबालिका तथा जेष्ठ नागरिक मन्त्री थममाया थापालाई पदमुक्त गरेका थिए।