बीबीसी । भारतीय सेनाका एक अधिकारीले भारत प्रशासित कश्मीरमा रहेको सियाचिन ग्लेशियरमा पहिरोमा परेर चारजना सिपाही र दुईजना भरियाको मृत्यु भएको जनाएका छन्।
आठजना सम्मिलित टोलीले हिमशृङ्खलाको करिब १९ हजार फिट (५८०० मिटर) को उचाइमा गस्ती गर्दै थिए। त्यही बेला उनीहरू हिमपहिरोमा परेका हुन्।
पहिरोमा परेकाहरूको खोजी गर्न सेनाले ठूलो अभियान चलायो, उद्धार गरिएका सबैलाई हेलिकोप्टरबाट नजिकको अस्पताल पुर्याइएको थियो। सेनाले भनेको छ तर ती सबैको अत्यधिक चिसोले कठाङ्ग्रिएका कारण मृत्यु भएको हो।
सियाचिन क्षेत्रमा भारत र पाकिस्तान दुबैका सेनाले गस्ती गर्छन्। उक्त क्षेत्रको सार्वभौमिकतालाई लिएर विवाद छ। वार्ताहरूपछि पनि पाकिस्तान र भारत सियाचिन ग्लेशियरमा सेनाको उपस्थिति हटाउन विफल भएका छन्। उक्त क्षेत्र संसारकै उच्च भागमा रहेको युद्धक्षेत्रको रूपमा परिचित छ।
सन् १९८४ मा भारतले ग्लेशियरमा नियन्त्रण जमाएको हो। त्यसबेला देखि लडाइँबाट भन्दा हिमपहिरोमा परेर बढी सैनिकको ज्यान गएको छ। सन् २०१६ को फेब्रुअरी महिनामा त्यही क्षेत्रमा रहेको सैन्य आधारमा हिमपहिरो जाँदा भारतीय सेनाका १० जनाको मृत्यु भएको थियो।
हिमपहिरो र भूस्खलन जाडो याममा त्यहाँ सामान्य जस्तै मानिन्छ। त्यहाँको तापक्रम माइनस ६० डिग्री सेल्सियससम्म झर्दछ।

