शनिबार, बैशाख ०८, २०८१

प्रधानमन्त्रीको प्रेस सल्लाहकारमा सूर्य थापा

काठमाडौं । प्रधानमन्त्री केपी शर्मा ओलीको प्रेस सल्लाहकार सूर्य थापा बन्ने भएका छन्। कुन्दन अर्यालको राजीनामा स्वीकृत भएपछि प्रधानमन्त्री ओलीले थापालाई सल्लाहकार बनाउने भएका हुन् ।

नेकपा नेतृत्व र केही निकट नेतासँगको छलफलपछि प्रधानमन्त्री ओलीले पार्टीको प्रचार विभाग उपप्रमुखसमेत रहेका थापालाई सल्लाहकार नियुक्त गर्ने तयारी गरेका हुन् । थापाले औपचारिक नियुक्ती भने आइतबार पाउने बालुवाटार स्रोतले बतायो । मन्त्रिपरिषद् बैठकले थापालाई नियुक्त गर्ने निर्णय गर्नेछ ।

थापा यसअघि झलनाथ खनाल प्रधानमन्त्री हुँदासमेत प्रेस सल्लाहकार बनिसकेका नेता हुन् । उनको पृष्ठभूमिसमेत पत्रकारिता भएकाले उनलाई प्रेस सल्लाहकार बनाउने विषयमा सहमति जुटेको स्रोतको दाबी छ। थापा नेकपा केन्द्रीय सदस्यसमेत हुन् ।   प्रधानमन्त्रीको सचिवालय र सल्लाहकारका सबै सदस्यले राजीनामा बुझाए पनि ६ जनाको नाममात्र स्वीकृत भएको छ। प्रधानमन्त्रीको निर्देशन अनुसार मंसिर १ गतेदेखि लागू हुनेगरी १३ जनाले राजीनामा बुझाएका थिए ।

प्रेस सल्लाहकार अर्याल,जनसम्पर्क सल्लाहकार अच्युत मैनाली,प्रेस संयोजक चेतन अधिकारी,सचिवालयमा कार्यरत घनश्याम भट्टराई,कृष्ण पौडेल र  कम्प्युटर अपरेटर उदय पोखरेलको राजीनामा स्वीकृत भइसकेको छ।