शनिबार, बैशाख १२, २०८३

धानमा व्यापारीको मनोमानी, आधा मूल्य पनि पाउँदैनन् किसानले

सरकारले कात्तिक पहिलो साता धानको समर्थन मूल्य तोक्यो। तर, व्यापारीले त्यो भाउ नलाउँदा किसान सस्तोमै धान बेच्न बाध्य छन्। सोचेजस्तो आम्दानी नहुने भएपछि मोरङ बूढीगंगा गाउँपालिकाका दिनेश यादव निराश छन्। उनले दुई बिघाको धान बिक्री गर्न ठिक्क पारेका छन्।

यस्तै समस्यामा छन्, झापाको झापा गाउँपालिका–५ का गुनेश्वर मण्डल। समर्थन मूल्य ‘कागलाई बेल पाक्यो, हर्ष न बिस्मात्’ भनेजस्तो भएको उनी सुनाउँछन्।

‘सरकारले समर्थन मूल्य तोकेर के गर्नु ? हामीले कहिल्यै उचित भाउ पाएनौं’, उनी भन्छन्, ‘व्यापारीले जति भन्यो त्यतिमा बेच्नुपर्ने बाध्यता छ।’ उनी अढाई बिघामा २ सय ५० मन धान फलाउँछन्।

प्रदेश १ का झापा, मोरङ र सुनसरीका किसान ‘भुसको भाउ’ मा धान बेच्नुपरेको गुनासो गर्छन्। व्यापारी र बिचौलियाले तोकेको मूल्यमा नबेचे किसानको धान बिक्दैन। उनीहरूले गाउँगाउँमा ‘सिन्डकेटै’ लगाएको गुनासो गर्छन्, किसान।

एक व्यापारी पुगेको गाउँमा अरू नजाने भएकाले बाध्य भएर उनीहरूले तोकेको भाउमा धान बिक्री गर्नुपर्ने बाध्यता रहेको बूढीगंगाका यादव बताउँछन्। ‘हामी सोझै मिलसम्म पुग्ने अवस्था छैन’, उनी भन्छन्, ‘व्यापारीले जति भन्यो त्यतिमा धान बिक्री गर्नुपर्छ। नत्र वर्षभरि धानै बिक्री हुँदैन।’ अन्नपूर्ण पोष्टमा खबर छ ।