काठमाडौं । सूर्य कर्पोरेसनले भिसा कन्सल्टेन्सीका नाममा जापानमा अनधिकृतरुपमा मानिस पठाउने गरेको खुलासा भएको छ ।
नेपालमा सूर्य कर्पोरेसनका सञ्चालक शम्भु लामिछानेले जापानमा हुने विभिन्न कार्यक्रमका साथै अन्य समयमा पनि अनधिकृतरुपमा मानिस पठाउने गरेको तथ्य फेला परेको हो ।
काठमाडौंको पुतलीसडकमा रहेको कार्यालयमा मानिस बोलाएर भिजिट भिसा मिलाइदिने भन्दै शम्भु लामिछानेले लाखौं रुपैयाँ असुल्ने गरेका छन् । एक जनाको १२ लाख ५० हजार रकम लिने गरेको लामिछानेले स्वीकार गरेका छन् । जापानमा आयोजना हुने अवार्डका नाममा दर्जनौँ व्यक्तिलाई कलाकार बनाएर भिजिट भिसामा लामिछानेले पठाउने गरेका छन् । कलाकारको जम्बो टोलीमा मिसाएर जापान पुगेकाले शरणार्थी बनेर जापानी अध्यागमनमा निवेदन दिन्छन् ।
लामिछानेले सन् २०१८ मा दर्जनौँ व्यक्तिबाट करोडौँ रकम लिएका आरोप लागेको छ । विभिन्न कलाकारको आवरणमा उनले ‘मानव तस्करी’को पुरानै काम निरन्तर गरिरहेका छन् । जापान जान इच्छुक एक व्यक्तिले आफूसँग लामिछानेले १२ लाख ५० हजार रुपैयाँ माग गरेको नागरिक खबरलाई जानकारी दिए ।
भिजिट भिसामा जापान पुगेका व्यक्तिलाई लामिछानेले नै शरणार्थीको रुपमा कागज मिलाउन सहयोग गर्ने गरेका छन् । सूर्य कर्पोरेसनले जापान पुगेपछि शरणार्थी भिसा आवेदन गरिदिएको कागज पनि नागरिकखबरले प्राप्त गरेको छ । यस पटक पनि नोभेम्बरको अन्तिममा दर्जनौँ व्यक्ति लैजाने कर्पोरेसनको तयारी छ ।
केही समयअघि खोटाङका राई थरका एक युवा हानेदा विमानस्थलबाटै अध्यागमनले फिर्ता गरेको नेपालस्थित अध्यागमन स्रोतले जानकारी दिएको छ । आफ्नो गाउँका तीन जना साथीहरु कर्पोरेसन मार्फत जापान गएपछि उनी पनि जापानका लागि लाखौँ रुपैयाँ लामिछानेलाई बुझाएर हानेदा विमानस्थलसम्म पुगेका थिए । तर त्यहाँको अध्यागमनले उनलाई फिर्ता पठायो ।
सूर्य कर्पोरेसनका सञ्चालक लामिछानेले आफूले जापानको भिसामा सहयोग गरेपनि कसैलाई पनि गैरकानुनी रुपमा जापान नपठाएको दावी गरे । कलाकार बाहेकका अन्य मान्छे नलगेको उनको भनाइ छ ।
लाखौं रकम लिएको प्रमाणसमेत नागरिकखबरसित रहेको र त्यसबारे के हो त ? भन्ने जिज्ञासामा उनले केही बताउन चाहेनन् । @स्रोत : नागरिकखबर बाट

