शुक्रबार, बैशाख ०७, २०८१

सावधान ! निमोनियाले ज्यान जाला, बालबालिकामा श्वासप्रश्वास रोगको संक्रमण

तपाईंका कलिला बालबालिका श्वास प्रश्वासजन्य रोगको सिकार त बन्दै छैनन् ? समयमा ध्यान नपु¥याउने र संवेदनशील नबन्ने हो भने तपाईंका बालबालिकालाई श्वासप्रश्वासको संक्रमणले लामो समयसम्म सताउन सक्ने देखिएको छ । श्वासप्रश्वासले जटिल रूप लिए निमोनिया हुन सक्ने र समयमा उपचार नभए बालबालिकाको मृत्युसमेत हुन सक्ने चिकित्सकले बताएका छन् ।

सरकारकै एक तथ्यांकले एक वर्षको अवधिमा मात्रै १७ लाखभन्दा बढी बालबालिका त्यस्तो रोगको संक्रमणले प्रभावित भएको देखाएको छ । जुन कुल बालबालिकाका आधाभन्दा बढी हो ।

स्वास्थ्य सेवा विभागअन्तर्गत परिवार कल्याण महाशाखाका अनुसार २०७५/७६ मा १७ लाख बालबालिकाहरू स्वासप्रश्वाससम्बन्धी रोगबाट प्रभावित भएका हुन् । स्वासप्रश्वासजन्य रोगअन्तर्गत रुघाखोकी, फोक्सोमा संक्रमणलगायत पर्छन् ।

श्वासप्रश्वासजन्य रोगबाट प्रभावित १७ लाख बालबालिकामध्ये झन्डै १ लाख ५० हजार बालबालिकामा निमोनिया देखिएको छ । निमोनिया देखिएकामध्ये करिब ३ सय जनाको मृत्यु भएको महाशाखाले जनाएको छ ।

शिशु जन्मेको पहिलो ६ महिनासम्म पूर्ण स्तनपान नगराउने, बालबालिकालाई पूर्ण खोप नलाउने, सरसफाइमा ध्यान नदिनेलगायतका कारणले बालबालिकामा निमोनियाको समस्या देखिने गरेको परिवार कल्याण महाशाखाअन्तर्गत बालस्वास्थ्य तथा खोप सेवा शाखाका प्रमुख डा. झलक शर्मा गौतमले बताए ।

निमोनिया भनेको फोक्सोमा हुने संक्रमण हो । निमोनिया भएमा खोकी लाग्ने, छिटोछिटो श्वास फेर्ने समस्या हुन्छ । पछिल्लो तथ्यांकअनुसार देशभर ३० लाख बालबालिका छन् ।

जन्मिएको ६ महिनासम्मका बालबालिकालाई स्तनपान नगराएमा र खोप लगाउनबाट वञ्चित भएका बालबालिकामा श्वासप्रश्वासजन्य रोगको सम्भावना बढी हुने चिकित्सकहरू बताउँछन् । शाखाको तथ्यांकअनुसार नेपालमा पाँच वर्षमुनिका बालबालिकाको मृत्युको प्रमुख कारण निमोनिया हो । बच्चा जन्मिने बित्तिकैको बिगौती दूध खाँदा रोगको जोखिमबाट बच्न सकिने चिकित्सकहरू बताउँछन् । राजधानी दैनिकमा खबर छ ।