बिहिबार, चैत १५, २०८०

नेकपाको सचिवालय बैठक आज, मन्त्रिपरिषद पुनर्गठनका विषयमा छलफल हुने

काठमाडौं। सत्तारूढ दल नेपाल कम्युनिस्ट पार्टी (नेकपा)को सचिवालय बैठक सोमवार (आज) बस्दैछ। पार्टी एकताका बाँकी कामहरू पूरा गर्न सचिवालय बैठक बस्न लागेको हो। आइतवार प्रधानमन्त्री एवं अध्यक्ष केपी ओली र अर्का अध्यक्ष प्रचण्डबीच लामो छलफल भएपछि सोमबार बस्ने गरी सचिवालय बैठक बोलाइएको हो।

पार्टी एकता भएको १७ महिना पूरा भएपनि अनुशासन आयोग, निर्वाचन आयोग, लेखा आयोग र केन्द्रीय सल्लाहकार परिषद्को नेतृत्व टुंगो लाग्न सकेको छैन। सचिवालय बैठकमा पार्टी एकताका बाँकी काम र मन्त्रिपरिषदु पुनर्गठनका विषयमा पनि छलफल हुने बताइएको छ।

स्रोतका अनुसार आइतबार प्रचण्डसँग भएको छलफलमा प्रधानमन्त्री ओलीले आफ्नो सचिवालयका सहयोगीको राजीनामाका विषयमा जानकारी गराएका थिए। साथै प्रधानमन्त्री ओलीले मन्त्रिपरिषद हेरफेर गर्ने विषयमा पनि प्रचण्डसँग छलफल गरेका थिए। यिनै विषयमा छलफल गर्न आज सचिलय बैठक बोलाइएको स्रोतले जनाएको छ।

प्रधानमन्त्री ओलीले एकपछि अर्को बोल्ड डिसिजन गर्दै आएका छन्। सरकारले कामको गति दिन नसकेको भन्दै आलोचना भइरहेका बेला प्रधानमन्त्री ओलीले आफ्ना सचिवालयका सबै सदस्यलाई राजीनामा दिन लगाइसकेका छन्। अब ओली मन्त्रिपरिषद पनि पुनर्गठन गर्ने तयारी गरेका छन्। आइतबार दुई अध्यक्षबीच नयाँ मन्त्री बन्ने व्यक्तिको विषयमा पनि छलफल गरेका थिए।