शनिबार, बैशाख १२, २०८३

कास्की-२ उपनिर्वाचनमा २१ जना उम्मेद्वार भिड्दै, को-को हुन् ?

पोखरा । प्रतिनिधिसभा सदस्यअन्तर्गत कास्की २ मा १४ मंसिरमा हुने उपनिर्वाचनमा २१ जना उम्मेदवारबीच प्रतिष्पर्धा हुने भएको छ ।

आइतबार उम्मेदवार फिर्ता तथा अन्तिम नामावली प्रकाशनअन्तर्गत कास्की २ मा स्वतन्त्र १० सहित २१ जना उम्मेदवारको टुंगो लागेको हो ।

गत २१ कात्तिकमा मुख्य निर्वाचन अधिकृतको कार्यालयमा १४ दल र ११ स्वतन्त्र गरी २५ जनाले मनोनयनपत्र दर्ता गराएका थिए ।

तीमध्ये स्वतन्त्र उम्मेदवारी दिएका पुरुषोत्तम खनालले आइतबार उम्मेदवारी फिर्ता लिएको जिल्ला निर्वाचन कार्यालय कास्कीका सूचना अधिकारी रुद्र न्यौपानेले जानकारी दिए।

यस्तै, संघीय लोकतान्त्रिक राष्ट्रिय मञ्चबाट उम्मेदवारी दिएका गजेन्द्र संबो लिम्बु, राष्ट्रिय नागरिक पार्टीका नवराज घले, राष्ट्रिय मुक्ति आन्दोलन नेपालबाट जयवन्त विक्रम शाहको उम्मेदवारी खारेज भएको छ । उनीहरुको नाम समानुपातिकको बन्दू सूचीमा रहेकोले उम्मेदवार खारेज गरिएको निर्वाचन कार्यालयले जनायो ।

उपनिर्वाचनको लागि नेकपाबाट स्व.रवीन्द्र अधिकारी पत्नी विद्या भट्टराई, प्रमुख प्रतिपक्षी दल नेपाली काँग्रेसबाट खेमराज पौडेल, साझा पार्टीबाट रजनी केसी, राप्रपाबाट रोमबहादुर भण्डारी, काँग्रेस (वीपी) बाट चन्द्रबहादुर रानाभाट, नेकपा (माले) बाट टेकनाथ भण्डारी, समाजवादी पार्टीबाट धर्मराज गुरुङ, राष्ट्रिय जनमुक्तिबाट पूर्णबहादुर राना, मंगोल नेशनल अर्गनाइजेसनबाट रियाज गुरुङ, देशभक्त समाजबाट वीरबहादुर विश्वकर्मा, राष्ट्रिय प्रजातन्त्र पार्टी (संयुक्त) बाट गंगा मल्लको अन्तिम नामावली सूचीमा रहेको मुख्य निर्वाचन अधिकृत काजीबहादुर राईले जानकारी दिए।

यस्तै, १० स्वतन्त्र उम्मेदवारमा कमलजंग कुँवर सहित उमनाथ गौतम, जमुना शर्मा, दीपक रेग्मी, नवराज बास्तोला, यज्ञप्रसाद पंगेनी, रनबहादुर दमै, लक्ष्मीकुमारी भुजेल, सुनीलबहादुर कोइराला र सुनील भुषाल छन्।