काठमाडौं । मेलम्चीको सुरुङमा काम गर्ने इटालियन ठेकेदार कम्पनी सीएमसी दी रेभेनाले करारमा लिएका २ सय ७५ जना मजदुरले अझै ज्याला पाएका छैनन् ।
तर सोही कम्पनीका ५ सय ५० जना मजदुरले भने ज्याला पाएको मेलम्ची खानेपानी विकास समितिले जनाएको छ ।
मेलम्ची सुरुङमा काम गर्ने ८ सय २५ स्थानीय मजदुरको ८ करोड ७४ लाख रुपियाँ ज्याला रकम भुक्तानीको माग राख्दै पटकपटक आन्दोलन भएपछि प्रक्रिया पुगेका ५ सय ५० मजदुरको ज्याला दिइएको समितिका सिनियर डिभिजनल इन्जिनियर राजेन्द्र पन्तले पुष्टि गरे ।
मुख्य ठेकेदारले ८ सय २५ जना स्थानीय मजदुरको ८ करोड ७४ लाख रुपियाँ ज्याला रकम भुक्तानी माग राखे पनि काम गरेको प्रमाण पुगेका ५ सय ५० जनाको मात्र रकम भुक्तानी भएको इन्जिनियर पन्तले तर्क गरे ।
उक्त ठेकेदार कम्पनी सन् २०१८ को नोभेम्बर र डिसेम्बर दुई महिनाको ज्याला नदिई ठेक्काको सम्पूर्ण काम छोडी अन्तिम चरणमा भागेको थियो । रकम भुक्तानी पाइसकेपछि मजदुर सन्तुष्ट भएको दाबी गर्दै मेलम्चीको बाँकी काम बिनाअवरोध भइरहेको समितिको भनाइ छ ।
सीएमसीद्वारा करारमा राखिएका मजदुर र स्थानीय भेण्डरले संघर्ष समिति बनाएर आन्दोलन गरेका थिए ।
संघर्ष समितिका संयोजक विष्णुमणि आचार्यले मेलम्चीले स्थानीय भेण्डरसहित मजदुरको भुक्तानीसमेत पाउनुपर्ने बताए । ‘मेलम्चीले मजदुरलाई ज्याला त दियो तर आधा जतिलाई मात्रै दिएको छ,’ उनले भने, ‘बाँकीलाई प्रमाण नपुगेको भन्दै दिएको छैन । बाँकीले पनि पाउनुपर्छ ।’
उहाँका अनुसार स्थानीय ठेकेदार भेण्डरको करिब ३५ करोड रकम भुक्तानी हुन बाँकी छ । समितिले बाँकीको प्रमाण पुग्ने आधारहरू ल्याउन सूचना जारी गर्दै तथ्यांक संकलनको काम भइरहेको जनाएको छ । नेपाल समाचारपत्र दैनिकमा खबर छ ।

