सोमबार, असोज १९, २०८३

विवादित नक्साको विरोधमा आन्दोलनलाई सशक्त पार्न कार्यकर्तालाई देउवाको निर्देशन

काठमाडौं । नेपाली कांग्रेसका सभापति शेरबहादुर देउवाले भारतको विवादित नक्साको विरोधमा भइरहेको आन्दोलनलाई सशक्त पार्न नेपाल विद्यार्थी संघका कार्यकर्तालाई निर्देशन दिएका छन् ।

भारतले लिपुलेक कालापानीसहित नेपाली भूभागलाई आफ्नो नक्सामा पारेको विरोधमा भइरहेको आन्दोलन जारी राख्न उनले आफ्ना कार्यकर्ताहरुलाई निर्देशन दिएका हुन् ।

लैनचौरस्थित अस्कल क्याम्पसमा आन्दोलनरत नेविसंघ नेताहरुसँग शनिबार बिहान बूढानीलकण्ठस्थित निवासमा भएको भेटमा देउवाले राष्ट्रियताको पक्षमा आन्दोलन चर्काउन निर्देशन दिएको नेपाल विद्यार्थी संघका नेता प्रकाश अर्यालले जानकारी दिए । शीर्ष तहका नेताहरुले भारतलाई नक्सा सच्याउन कूटनीतिक दबाब दिने र कार्यकर्ता तहबाट सडक आन्दोलन चर्काउने योजना अन्तर्गत रहेर काम गर्न निर्देशन दिनुभयो,’ अर्यालले भने ।

अर्यालका अनुसार सभापति देउवाले राजधानीमा देखिने गरी काठमाडौंमा आन्दोलन उठाउनु पर्ने बताएका छन् ।