शुक्रबार, चैत १६, २०८०

कालापानी नेपालकै भूमि हो : मुख्यमन्त्री पौडेल

हेटौंडा। प्रदेश नं ३ का मुख्यमन्त्री डोरमणि पौडेलले भारतले आफ्नो नक्साभित्र समावेश गरेको भूमि कालापानी नेपालकै भूमि भएको बताएका छन्। उनले सामाजिक सञ्जालमार्फत भनेका छन्, “कालापानी, लिपुलेक र लिम्पियाधुरा हाम्रो हो ।”

यसैबीच भारतले सार्वजनिक गरेको नक्सामा नेपालको कालापानी, लिपुलेक र लिम्पियाधुरालाई भारतमा देखाएको भन्दै विभिन्न सङ्घ संस्थाले शुक्रबार हेटौँडामा विरोध कार्यक्रम आयोजना गरेका छन् ।

राष्ट्रिय जनसरोकार मञ्च मकवानपुर, नागरिक सरोकार समिति, मकवानपुर जागरण अभियान नेपाल, राष्ट्रिय कर्मचारी महासङ्घ प्रदेश ३, राष्ट्रिय मानवअधिकार सरोकार केन्द्रलगायतले विरोधजुलुस निकाल्नुका साथै विरोधसभा आयोजना गरेका थिए । भारतको उक्त कदमको यहाँका विद्यार्थीले पनि विरोध जनाएका छन् । अनेरास्ववियुले विरोध प्रदर्शन गरेको थियो ।

विद्यार्थीले ‘गो ब्याक इण्डिया’ नारा लगाउँदै नगरपरिक्रमा गरेका थिए । रासस