शनिबार, बैशाख १२, २०८३

आलमलाई थुनामा राख्न माग

बम विस्फोटमा घाइते भएका व्यक्तिलाई इँटाभट्टामा जिउँदै जलाएर मारेको अभियोगमा पक्राउ परेका पूर्वमन्त्री आफताब आलमलाई थुनामा राखी मुद्दाको पुर्पक्ष गर्न माग गरिएको छ ।

रौतहट जिल्ला अदालतका न्यायाधीश दीपक ढकालको इजलासमा बिहीबार बहस गर्दै सरकारी वकिलहरूले यस्तो माग गरेका हुन् ।

मिसिल संलग्न प्रमाण कागजातले आलमकै प्रत्यक्ष निर्देशन र संलग्नतामा विस्फोटक पदार्थ बमसमेत प्रयोग गरी ज्यान मार्ने उद्योग र कर्तव्य ज्यान जस्तो जघन्य कसुर अपराध भएको आरोप लगाउँदै सरकारी वकिलहरूले मुद्दाको पुर्पक्षको सिलसिलामा आलमलाई थुनामा राख्न माग गरेका हुन् ।

मङ्गलबार सुरु भएको आलमको बयान बिहीबार दिउँसो सम्पन्न भएपछि इजलासमा थुनछेक बहस सुरु भएको हो ।

आलमलाई मुद्दा पुर्पक्षको सिलसिलामा थुनामा राख्ने वा धरौटी वा साधारण तारेखमा छाड्ने विषयमा बहस सुरु भएको हो ।

बिहीबार नेपाल सरकारका तर्फबाट महान्यायाधिवक्ताको कार्यालयका सहन्यायाधिवक्ता सूर्यराज दाहाल, उपन्यायाधिवक्ता अर्जुनप्रसाद कोइराला र जिल्ला न्यायाधिवक्ता खडिन्द्रराज कटुवालले बहस गरेका थिए ।

संविधान सभा निर्वाचनको अघिल्लो दिन २०६४ चैत २७ गते आलमका काका इद्रिसको गोठघरमा बम बनाउँदै गर्दा विस्फोट भएको र त्यसमा सख्त घाइते भएका सरुअठाका पिन्टु भन्ने त्रिलोकप्रताप सिंह र ओसी अख्तर लगायतका व्यक्तिलाई भाइ महताब आलमको ट्याक्टरमा ओसारेर नजिकै रहेको आफन्तको इँटाभट्टामा जिउँदै जलाएर मारेको आरोप लगाउँदै सहन्यायाधिवक्ता दाहालले अमानवीय तरिकाले निर्ममतापूर्वक हत्या गर्ने मुख्य निर्देशनकर्ता व्यक्ति आलमलाई थुनामा राखी मुद्दाको कारबाही गर्न इजलासमक्ष अनुरोध गरे । गोरखापत्र दैनिकमा खबर छ ।