शनिबार, बैशाख १२, २०८३

पूर्वआइजिपी र डिआइजी महराका ‘रुममेट’ !

काठमाडौंः सामान्यतः ‘भिआइपी अभियुक्त’हरूले डिल्लीबजार कारागार नै रोज्ने गर्छन् । अन्यत्रभन्दा आफन्तहरूसँग भेटघाट सहज हुने भएकाले धेरैले डिल्लीबजार रोज्ने गरेका हुन् । सदरखोरका नामले चिनिने डिल्लीबजार कारागारमा दुई ब्लक छन् ।

यसमध्ये क ब्लकमा महरा बसेका छन्, जहाँ करिब ४५० जना कैदीरबन्दीहरू छन् । जबर्जस्ती करणी मुद्दामा अदालतले पुर्पक्षका लागि थुनामा पठाउने आदेश दिएका पूर्वसभामुख कृष्णबहादुर महरा पनि त्यही छन् । क ब्लकमा रहेका पूर्वआइजिपी रमेशचन्द ठकुरी र पूर्वडिआइजी रञ्जन कोइराला महराका ‘रुममेट’ बनेका छन् ।

ठकुरी र कोइराला बस्दै आएको कोठामा पूर्व सभामुख महरालाई राखिएको छ । ठकुरी सुडान शान्ति मिसनका लागि खरिद गरिएको सामान खरिदमा अनियमितता गरेको आरोपमा जेल परेका हुन् । सर्वाेच्च अदालतले दोषी ठहर गरेपछि पनि लामो समय फरार रहेका उनी गत १९ असारमा सर्वाेच्चमा उपस्थित भएका थिए । उनलाई सर्वाेच्चले एक वर्ष कैद र ४० हजार रुपैयाँ जरिवाना सजायको फैसला गरेको थियो ।

सशस्त्र प्रहरीका पूर्वडिआइजी रञ्जन कोइराला श्रीमती हत्या अभियोगमा जेल परेका हुन् । उनलाई सर्वस्वसहित जन्मकैदको सजाय सुनाइएको थियो । ठकुरी र कोइराला बस्ने कोठा तुलनात्मक रूपमा सुविधासम्पन्न भएकाले महरालाई त्यहीँ राखिएको स्रोत बताउँछ ।आजको नयाँ पत्रिका दैनिकमा समाचार छ ।