सिन्धुपाल्चोक । नेपाली कांग्रेसका सभापति शेरबहादुर देउवाले सरकारले प्रतिपक्षलाई राजनीति ढङ्गले पेलेर जाने नीति लिएको आरोप लगाउँदै कडा रुपमा प्रतिवाद गर्ने चेतावनी दिएका छन् ।
सिन्धुपाल्चोकको सुनकोशी गाउँपालिकाअन्तर्गत ठोकर्पास्थित बाघ भैरव नमूना माविको नवनिर्मित भवनको सोमबार उद्घाटन गर्दै देउवाले सरकार दुई तिहाइको बलमा प्रतिपक्षलाई पेलेर जाने रणनीतिमा लागेको आरोप लगाए । उनले त्यसको दृढताका साथ सशक्त ढङ्गले प्रतिवाद गर्ने चेतावनी दिएका छन् ।
भूकम्पबाट ध्वस्त संरचनाको पुनःनिर्माणकार्य चाँडै सकाउन सरकारलाई आग्रह गर्दै सभापति देउवाले द्वन्द्वकाल र विभिन्न समयमा अन्यायमा परेका जनतालाई न्याय दिनुपर्नेमा जोड दिए । वडाअध्यक्ष नेत्रबहादुर कार्कीको सभापतित्वमा आयोजित कार्यक्रममा सांसद् अग्नि सापकोटा र नेपाली काङ्ग्रेसका केन्द्रीय सदस्य मोहनबहादुर बस्नेतले पनि आ–आफ्नो धारणा राख्नुभएको थियो ।

