बिहिबार, बैशाख ०६, २०८१

कन्टेनरमा मृत फेला परेकामध्ये केही भियतनामी हुन सक्ने

बीबीसी । यसै साता ब्रिटेनको एसिक्समा लरीमा फेला परेका ३९ शवमध्ये कम्तीमा छ शव भियतनामीहरूको हुन सक्ने बताइएको छ। भियतनामका छ परिवारले आफ्ना हराइरहेका सदस्य ती मृतकमध्ये परेको हुनसक्ने शङ्का गरिरहेको बीबीसीले थाहा पाएको छ।

तीमध्ये एक हुन् २६ वर्षीया फाम थी त्रा माइ। मङ्गलवार आफूलाई सास फेर्नै गार्‍हो भइरहेको भनेर एसएमएस सन्देश पठाए यता उनको अत्तोपत्तो नभएको परिवारले जनाएको छ।

उनका भाइ फाम न्गोक ट्वानका अनुसार उनले ब्रिटेन पुर्‍याउन मागिएको ३० हजार पाउण्डमध्ये केही मानव तस्करहरूलाई भुक्तानी गरिसकिएको थियो। पछिल्लो जानकारी उनी बेल्जियम पुगेको भन्ने जानकारी प्राप्त भएको उनले बताए।

त्रा माइका आफन्तले बीबीसीलाई भने, ‘उनी २३ अक्टोबर देखि हराइरहेकी थिइन्। उनी भियतनामबाट ब्रिटेन जाँदै थिइन्। हामीलाई चिन्ता छ कि कतै उनी त्यही कन्टेनरमा त थिइनन्।’

उनले ब्रिटिश प्रहरीलाई अनुसन्धान गर्न आह्वान गरे। त्रा माइले मङ्गलवार अबेर राति अन्तिम सन्देश पठाएकी थिइन्। ‘म निकै दुखी छु, आमा बुवा। मेरो परदेशको यात्रा विफल भयो। म मर्न लागिरहेको छु। सास फेर्न गार्‍हो भएको छ। तपाईँहरूलाई मेरो धेरै धेरै माया छ,’ उनको सन्देशमा लेखिएको थियो।

उनको आफन्तका अनुसार त्रा माइको यात्रा अक्टोबर ३ मा सुरु भएको हो। लैजानेहरूले अनुमति नदिने भन्दै उनले परिवारलाई सम्पर्क नगर्न भनेकी थिइन्। ‘उनी पहिले चीन र त्यसपछि फ्रान्स गइन्। जहाँ पुगेपनि आफैँ फोन गरेर जानकारी दिन्थिन्। ब्रिटेन पस्ने उनको पहिलो प्रयास १९ अक्टोबरमा भएको थियो। तर त्यतिखेर उनलाई पक्रेर फर्काइयो।’

बीबीसीले उनीबारेको जानकारी एसिक्स प्रहरीलाई दिएको छ। केही परिवारलाई मानव तस्करहरूले पैसा फिर्ता गरेको पनि बताइन्छ। बीस वर्षीय न्गुएन डिन्ह लुओङका परिवार पनि उनी ३९ मृतकमध्ये परेको शङ्का गर्छन्। अर्की एकजना १९ वर्षीया महिलाको बारेमा पनि बीबीसीलाई जानकारी प्राप्त भएको छ।

ती महिलाका आफन्तले उनले मङ्गलवार बिहान बेल्जियमबाट फोन गर्दै आफूहरू कन्टेनरमा चढेको र फोन बन्द गर्न लागेको भनेको बताएका छन्। त्यसपछि उनको केही अत्तोपत्तो नभएको बताइन्छ। मानव तस्करहरूले त्यसलगत्तै परिवारलाई पैसा फिर्ता गरेको बताइएको छ।

लण्डनस्थित भियतनामी राजदूतावासका एक प्रवक्ताले उनीहरू एसिक्स प्रहरीको सम्पर्कमा रहेको बताएका छन्। भियतनामका परिवारहरूले आफ्ना आफन्तबारे जानकारी दिन अनुरोध गरिरहेको तर आधिकारीक पुष्टि भइनसकेको बताइएको छ।

एसिक्स प्रहरीले बुधवार बिहान करिब २ बजेको स्थानीय समयमा उक्त लरी एउटा औद्योगिक क्षेत्रमा फेला परेको बताएको थियो। त्यसभित्र ३१ पुरुष र आठ महिलाको शव रहेको र सुरुमा ती सबै चिनियाँ भएको ठानिएको थियो।

शुक्रवार साँझ आयोजित प्रेस सम्मेलनमा बोल्दै डेपुटी चीफ कन्सटेबल पीप्पा मिल्सले उनीहरू राष्ट्रिय अपराधसम्बन्धी निकाय, गृह मन्त्रालय, विदेश मन्त्रालय तथा सीमा नियन्त्रण एवम् अध्यागमन निकायसँग सम्पर्कमा रहेर अनुसन्धान भइरहेको बताइन्।

पहिचान स्थापित हुने आधिकारिक प्रक्रिया नसकिएसम्म ती शव कस कसको भएको भन्ने बारे थप टिप्पणी नगर्ने उनले बताइन्। यसअघि स्टान्स्टेड विमानस्थलबाट एकजना पुरुषलाई मानवतस्करको षडयन्त्र तथा हत्या अभियोगमा पक्राउ गरिएको छ। उनीसहित यो मामिलालाई लिएर हालसम्म चार जना पक्राउ परिसकेका छन्।