बिहिबार, बैशाख ०६, २०८१

सीरियाका विषयमा रुस र टर्कीबीच ‘ऐतिहासिक सम्झौता’

बीबीसी। टर्की र रुसबीच म्याराथन बैठकका क्रममा उत्तरी सीरियामा कुर्द विरुद्धको सैन्य कारवाही गर्ने विषयमा सहमति भएको छ। दुवै देशले यसलाई ऐतिहासिक सम्झौताको संज्ञा दिएका छन्।

यो सम्झौता रुसी राष्ट्रपति भ्यादिमीर पुटिन र टर्कीका राष्ट्रपति रचेप तैय्यप अर्दोआनबीच रुसको सोचीमा भएको बैठकका क्रममा भएको बीबीसीले जनाएको छ।

टर्की–सीरियाली सीमामा रुस र टर्की दुवै देशका सैनिक तैनाथ छन्। अमेरिकाले यो इलाकाबाट आफ्ना सैनिक फिर्ता बोलाइसकेको छ।
टर्कीले सीरियाका कुर्द विद्रोही विरुद्ध आक्रमक अभियान चलाएको छ। टर्कीले कुर्दहरुको एक समूहलाई ‘आतंकवादी समूह’ दाबी गर्छ।

अब टर्की र सीरिया मिलेर टर्की–सीरियाको सीमामा संयुक्त गस्ती गर्नेछन्। यसले यो क्षेत्रको बद्लिँदो शक्ति सन्तुलनलाई संकेत गर्छ।
अमेरिका गत हप्ता कुर्द लडाकु र टर्कीका सेनाबीच युद्ध बिराम गराएको थियो। युद्ध बिरामको समय सीमा पूरा हुनु ठिक एक दिन अगाडि रुस र टर्कीबीच नयाँ सम्झौता भएको हो।

कुर्द विद्रोहीले सम्झौता अनुसार आफ्ना लडाकु हटाउने काम पूरा गरेको जनाएको छ। तर, टर्की र रुसबीच भएको सम्झौताले लडाकु हटाउने समय सीमा बढाएको छ।

उनीहरुलाई सीमाभन्दा ३२ किलोमीटर दुरीसम्म लडाकु हटाउन भनिएको छ। यसलाई ‘सेफ जोन’ अर्थात सुरक्षित क्षेत्र भनिन्छ। र, यो इलाकाबाट लडाकु हटाउनलाई १५० घण्टाको समय दिइएको छ।

उत्तरी सीरियाका कुर्द बलमा कुर्दिश पीपुल्स प्रोटेक्शन युनिट्स (वाईपीजी) लडाकुको दबदबा छ। यसलाई टर्कीले आफ्नो सीमामा खतराका रुपमा हेर्दै आएको छ।

सम्झौता अनुसार यस क्षेत्रको सैन्य नियन्त्रण रुस र टर्कीबीच बाँडिएको छ। ताकि अमेरिकाले अचानक आफ्ना सैनिक फिर्ता बोलाएपछि खाली भएको भूमिकाको भइपाई गर्न सकियोस्।

रुसको भूमिका

अमेरिकी सैनिक फिर्तापछि टर्कीका राष्ट्रपति रचेप तैय्यप अर्दोआनले ९ अक्टोबरमा सीमा पार आक्रमणको अभियान सुरु गरेका थिए। यो क्षेत्रमा अमेरिका इस्लामिक स्टेट समूहसँग लडिरहेका कुर्द समूहलाई समर्थन गरिरहेको थियो।

रुस सीरियाको सहयोग राष्ट्र हो र यसले आफ्ना सैनिकलाई सीमा नजिकै तैनाथ गरेको छ, ताकि सीरियाको क्षेत्रमा विदेश शक्ति हावी नहोस्।
रुसका सैनिकको तैनाथीका कारण रुस र टर्कीबीच टकरावको आशंका थियो। यस्ता अवस्थामा रुसका राष्ट्रपति भ्लादिमीर पुटिन र टर्कीका राष्ट्रपति अर्दोआन दुवै संभावित टकराव रोक्न चाहन्थे।

यी दुवै नेताबीच सोचीमा करिव ६ घण्टा लामो बैठक बस्यो। यहीबीचमा दुवै पक्षबीच सम्झौता गर्ने सहमति भएको हो। रुसले टर्कीलाई सैन्य अभियान चलाउन सहमति दिएको छ। यो सहमतिपछि दुवै देशबीच टकरावको अवस्थाको अन्त्य भएको छ।

टर्की आफ्नो अभियान रास अल एनबाट तेल अब्यादको बीच १२० किलोमीटरको इलाकामा चलाइरहेको छ। तर अर्दोआन सीमाको पूरै ४४० किलोमीटर इलाकालाई ‘सेफ जोन’ बनाउन चाहन्थे।

रुस र टर्कीका तर्फबाट जारी गरिएको विज्ञप्तिमा कुर्द बललाई मनबिज र तेल रिफत शहरबाट हटाउने उल्लेख छ। कुर्द लडाकुले अहिले यो सम्झौताका विषयमा कुनै टिप्पणी गरेको छैन।

अमेरिकाको भूमिका

विगत चार वर्षदेखि अमेरिकाको अगुवाईमा बहुदेशीय गठबन्धन सेना सीरियामा इस्लामिक स्टेटसँग युद्ध गर्न वाईपीजीमाथि विश्वास गर्दै आएको थियो। टर्की यसलाई आतंकवादी संगठन ठान्छ। जसको सम्पर्क टर्कीमा संघर्ष गरिरहेको विद्रोही कुर्द समूहसँग छ। अमेरिकी राष्ट्रपति डोनाल्ड ट्रम्पको सीरियाको सीमाबाट सैनिक हटाउने निर्णयको अमेरिकी संसदले कडा आलोचना गरेका थियो।

अमेरिकी आग्रहमा गत हप्ता टर्की आक्रमण अभियान रोक्नका लागि सहमत भएको थियो। अमेरिकी उपराष्ट्रपति माइक पेन्सले बिहीबार अर्दोआनलाई १२० घण्टाका लागि आक्रमण अभियान रोक्नका लागि सहमत गराएका थिए।

कति नोक्सान?

संयुक्त राष्ट्रसंघका अनुसार विगत दुई हप्तामा करिव ८० हजार बच्चासमेत एक लाख ७६ हजार भन्दा धेरै मानिस उत्तर पूर्वी सीरियाबाट विस्थापित भइसकेका छन्। यहाँ करिव सात लाख मानिस बस्छन्।

बेलायतस्थित निगरानी समूह सीरियन अब्जरभेट्री फर ह्यूमन राइट्सका अनुसार संघर्षमा १२० सर्वसाधारणको मृत्यु भएको छ। साथै २५९ कुर्द लडाकु, १९६ टर्की समर्थित सीरियाई विद्रोही र सात टर्की सेनाको पनि निधन भएको छ। टर्कीका अधिकारीका अनुसार टर्कीको क्षेत्रमा वाईवीजीको आक्रमणमा २० सर्वसाधारणको मृत्यु भएको छ।