काठमाडौँ । प्रधानमन्त्री केपी शर्मा ओलीले गैरआवासीय नेपालीहरुलाई सकेसम्म स्वदेशमै आएर आफ्नो सीप र क्षमताको उपयोग गर्न, नभए विदेशबाटै गैरआवासीय नेपालीका रुपमा स्वदेशको विकासका लागि विविध क्षेत्रबाट योगदान गर्न आह्वान गरेका छन् ।
गैरआवासीय नेपाली संघको नवौं अन्तर्राष्ट्रिय सम्मेलननबाट निर्वाचित पदाधिकारीलाई बालुवाटारमा आमन्त्रण गरी बधाइ शुभकामना दिँदै प्रधानमन्त्रीले देशमा भ्रष्टाचारका विरुद्धमा कारवाही चलिरहेको बताए ।
सुशासनका दिशामा उल्लेखनीय कामहरु भइरहको बताउँदै उनले भने, ‘दुई वर्षपछि अर्को अधिवेशनका समयमा तपाईंहरुले देशको मुहार निकै फेरिएको पाउनु हुनेछ ।
गैरआवासीय नेपालीहरुले नेपालमा सामाजिक जागरण फैलाउन र समाजलाई नै उद्यमशीलताको दिशातर्फ द्रूत गतिका साथ अघि बढाउन महत्वपूर्ण भूमिका निर्वाह गर्न सक्ने विश्वास आफूलाई भएको बताउँदै उनले भने, ‘अहिले तपाईंहरु गर्व गर्न सक्नुहुन्छ, अन्तर्राष्ट्रिय रुपमै नेपालको छवि माथि उठेको छ ।
प्रधानमन्त्रीले अगाडि भने, ‘गैरआवासीय नेपालीले परिचयपत्र पाउने छन्, जसमा राजनीतिक अधिकारबाहेक सबै अधिकारहरु त हुने नै छन, हामी अझ बढी केही सुविधा वा लगानी गर्न सहज हुने अधिकारहरु पनि समावेश गर्न चाहिरहेका छौं ।
अरु देशमा काम गरिरहेको नेपालीहरुका लागि बसेको देशमा बढीभन्दा अधिकार सुरक्षित होस, श्रमको रोजगारीमा जानेले कसरी अधिकार सुरक्षित र सुविधा कसरी हुन सक्छ भन्ने विषयमा ध्यान पुर्याएर काम गरीरहेको ओलीको दाबी थियो ।
‘हामी आग्रह गर्दछौं, नेपाली बाहिर जानेभन्दा देशभित्रै बसेर देश बनाऔं,’ ओलीले भने, ‘हामी त्यसरी फर्किएर आउनेहरुका लागि आवश्यक सुविधा प्रदान गर्न चाहन्छौ । तर बाहिर जाने नै हो भने पनि दक्ष भएर जानु पर्ने बताउनु भयो ।

