बिहिबार, बैशाख ०३, २०८३

महराले सांसदबाट राजीनामा नदिने : नेकपामै नरहेको जिकिर

काठमाडौं । संसद् सचिवालयकी एक महिला कर्मचारीलाई यौन दुव्र्यवहार गरेको आरोपमा हिरासतमा रहेका निवर्तमान सभामुख कृष्णबहादुर महराले आफू नेकपाको सदस्य नभएको भन्दै पार्टीको निर्देशन नमान्ने बताएका छन् ।

आफूले सभामुख निर्वाचनसँगै पार्टीको साधारण सदस्यसमेत त्याग गरेको बताउँदै उनले आफू नेकपामा नभएकाले राजीनामा नदिने बताएका हुन् ।

दुव्र्यवहारको घटना सार्वजनिक भएसँगै सभामुख र सांसद पदबाटसमेत राजीनामा दिन नेकपाले महरालाई निर्देशन दिएको थियो ।

तर, उनले सांसद पदबाट राजीनामा नदिई सभामुख पदबाट मात्रै राजीनामा दिए । उनले राजीनामा नदिँदा उनी संसदमा स्वतन्त्र सांसदका रूपमा रहन सक्छन् ।

उनले आफू नेकपाको नेता नै नभएको भन्दै सो पार्टीको सुझाव किन मान्ने भनेर राजीनामा नदिएको उनीनिकट नेता बताउँछन् ।

उनको भनाइ उद्धृत गर्दै नेकपाका एक नेताले भने, ‘मैले किन राजीनामा दिने ? म अहिले नेकपामा छैन, त्यही भएर सो पार्टीको सुझाव मान्न म बाध्य छैन ।’

महराको भनाइसँग नेकपाका प्रमुख सचेतक देव गुरुङको धारणा पनि मिल्न गएको छ । प्रमुख सचेतक गुरुङले महरा नेकपामा नरहेकाले पार्टीको सुझाव मान्न बाध्यता नभएको बताए ।

‘सभामुखमा चयन भएपछि उहाँले पार्टीबाट राजीनामा दिनुभएको थियो । पछि फेरि उहाँ पार्टीमा जोडिनुभएको थाहा छैन,’ उनले भने, ‘पार्टीमै नभएका व्यक्तिलाई नेकपाले सुझाव दिने हो, दबाब दिन वा निर्देशन दिन मिल्दैन ।’ राजधानी दैनिकमा खबर छ ।