टोकियो । जापानमा शनिवार शक्तिशाली भनिएको हगिबिस ताईफुको कारण हालसम्म ९ जनाको मृत्यु भएको छ ।
ताईफु र बाडीमा परि १४ जना बेपत्ता र ९० जना भन्दा बढी घाइते भएका छन् ।
ताइफुसँगै आएको वर्षाले गर्दा नदिहरुमा पानीको बहाव बढेसँगै शनिवार टोकियो महानगर क्षेत्र लगायत जापानका कयौं स्थानमा आवासीय क्षेत्रहरु डुबानमा परेको समाचार संस्था क्योदोले बताएनुसार जापानटुडेले समाचार प्रकाशन गरेको छ ।
बाढी र पहिरोको चपेटामा परेका मध्य, पूर्वी र उत्तरपश्चिम क्षेत्रमा उद्धार कार्य भइरहेको जनाएको छ ।
चिकुमा नदीको किनारको बाँध भत्किदा मध्य जापानको शहर नागानो सबै भन्दा धेरै प्रभावित भएको छ । नदीको पानी आवासीय क्षेत्रमा पसेको र त्यहाँको केही स्थान बाढीको पानीले ५ मिटरसम्म डुबेको जापानको भु–मन्त्रालयको अनुमान छ ।
जापानको मुख्य रेल सेवा प्रदायकहरुले अधिकांश सेवा स्थगित गरेका छन् । महानगर र आसपासका क्षेत्रमा शनिवार मध्याहन्न देखि आइतबार बिहानसम्म अधिकांश विमानस्थल बन्द गरिएका थिए ।
भु, पूर्वाधार, यातायात तथा पयर्टन मन्त्रालयका अनुसार नौं प्रिफेक्चरमा कम्तिमा पनि ३३ ओटा पहिरो र भुस्खलन भएको जनाएको छ ।
आइतबार बिहानबाट टोकियोको हानेदा विमानस्थल र अधिकांश शिन्कान्सेन बुलेट रेल सेवा सुचारु हुन थालेका छन् ।
टोकियोको सबवेको सञ्चालन बिहान सुरक्षाको अवस्था चेकजाँच गर्न स्थगित गरिएको थियो ।

