मङ्गलबार, बैशाख ११, २०८१

चिनियाँ राष्ट्रपति सीलाई नेपाली सेनाको गार्ड अफ अनर प्रदान

काठमाडौं । चिनियाँ राष्ट्रपति सी चिनफिङलाई नेपाली सेनाले गार्ड अफ अनर प्रदान गरेको छ ।

दुईदिने नेपाल भ्रमणमा आएका राष्ट्रपति सी त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थलमा उत्रिएपछि  सेनाको एक टोलीले गार्ड अफ अनर प्रदान गरेको हो ।

त्यसअघि दुवै देशको राष्ट्रिय गानको धून बजाउँदै नेपाली सेनाले सलामी अर्पण गरेको थियो । अति विशिष्ट पाहुनालाई नेपाली सेनाको टोलीले गार्ड अफ अनर प्रदान गर्ने परम्परा छ ।

 

राष्ट्रपति सी एयर चाइनाको विशेष विमानबाट भारतको चेन्नाई हुँदै शनिबार अपराह्न नेपाल आएका हुन् । उनलाई विमानको ढोकै अगाडि पुगेर समकक्षी विद्यादेवी भण्डारीले स्वागत गरेकी थिइन् । राष्ट्रपति सीलाई स्वागत गर्न उपराष्ट्रपति नन्दबहादुर पुन, प्रधानमन्त्री केपी शर्मा ओली, राष्ट्रियसभाका अध्यक्ष गणेशप्रसाद तिमल्सिना, प्रदेश ३ का मुख्यमन्त्री डोरमणि पौडेल र केन्द्रीय सरकारका मन्त्रीहरु उपस्थित विमानस्थल पुगेका थिए ।

चिनियाँ राष्ट्रपतिबाट २३ वर्षपछि नेपाल भ्रमण भएकाले सरकारले सीको स्वागत तथा सम्मानमा कुनै कसर बाँकी राखेको छैन । काठमाडौंका सडक विशेष रुपमा सजाइएको छ भने ठाउँठाउँमा परम्परागत पोशाक र झाँकीसहितको टोलीलाई स्वागतमा खटाइएको छ ।

उच्चस्तरीय भेटवार्ता गरी उनी आइतबार स्वदेश फर्किने कार्यक्रम छ ।