शनिबार, बैशाख १२, २०८३

जापानमा शक्तिशाली ‘ह्यागिबिस’आँधी,एक जनाको मृत्यु

एजेन्सी । जापानमा शनिबार आएको शक्तिशाली आँधी ह्यागिबिस राजधानी टोकियोतिर अघि बढिरहेको छ । आँधीका कारण एक जनाको ज्यान गैसकेको छ ।

आँधी आउनुअघि नै यसको प्रभावका कारण ठूलो वर्षा भएको थियो र १६ लाख भन्दा बढी मानिसहरुलाई सुरक्षित ठाउँमा जानका लागि भनिएको थियो ।

आँधीका कारण यातायात र बिजुली सेवा पनि प्रभावित भएको छ भने भूस्खलनको आशंका पनि बढेको अधिकारीहरुले जनाएका छन् । निकै शक्तिशाली मानिएको आँधीका कारण यसअघि नै रग्बी विश्व कपको दुई ओटा खेल रद्द गर्नुपरेको थियो । एक हजार ६ सय बढी विमानहरुले पनि उडान गर्न पाएका थिएनन् ।

जापानको मौसम विज्ञान एजेन्सी जेएमए ले शनिबार साँझ मध्य या पूर्वी जापानमा आँधीको गति २१६ किलोमिटर प्रति घण्टा पुग्ने अनुमान गरेको छ ।

चिबा क्षेत्रमा ३६ हजार बढी घर तथा भवनहरु क्षतिग्रस्त भएका छन् । स्थानीय सरकारले प्रभावित भवनमा रहिरहेका मानिसहरुलाई सुरक्षित ठाउँतर्फ जान अपिल गरेको छ ।

यो आँधी पछिल्लो ६ दशककै शक्तिशाली र भयानक भएको अधिकारीहरुले जनाएका छन् ।

@तस्विर : NHK JAPAN