शनिबार, बैशाख १२, २०८३

कात्तिक पहिलो साता राष्ट्रपति र प्रधानमन्त्री विदेश भ्रमणमा जाँदै

काठमाडौं । राष्ट्रपति विद्यादेवी भण्डारी र प्रधानमन्त्री केपी शर्मा ओलीको विदेश भ्रमणको तयारी सुरु भएको छ ।

कात्तिक पहिलो साता राष्ट्रप्रमुख भण्डारी जापान र सरकार प्रमुख प्रधानमन्त्री ओली अजरबैजान जानुहुने भएको छ । चिनियाँ राष्ट्रपति सी जिनफिनको नेपाल भ्रमण सकिएपछि राष्ट्रपति कात्तिक ३ गते जापान र प्रधानमन्त्री कात्तिक ८ गते अजरबैजान जाने कार्यक्रम रहेको छ ।

राष्ट्रपति भण्डारी जापानका नयाँ साम्राट नारुहितोको गद्दी आरोहण एवं राज्याभिषेकमा सहभागी हुन त्यसतर्फ जान लाग्नु भएको छ

जापानी नयाँ सम्राट नारुहितोको राज्याभिषेक कात्तिक ५ गते हुनेछ । यस्तै प्रधानमन्त्री ओली कात्तिक ८ र ९ मा अजरबैजानमा हुने असंलग्न राष्ट्रहरूको १८ औँ सम्मेलनमा सहभागी हुन त्यसतर्फ जान लाग्नु भएको हो ।

नेकपा र नेपाली कांग्रेसको चियापान असोज २९ र २६ मा

काठमाडौं । प्रमुख राजनीतिक दलहरुले हरेक वर्ष चाडवाडका बेला गर्ने चियापान कायक्र्रमलाई यस वर्ष पनि निरन्तरता दिँदै छन् ।
सत्तारुढ दल नेकपा र प्रतिपक्षी नेपाली कांग्रेसले चियापान कार्यक्रम तय गरेका छन् । नेकपाले चाडबाडको अवसरमा गर्ने चियापानमा एक लाखलाई निम्तोको तयारी गरेको छ ।

नेकपाले दसैँ, तिहार, छठ, नेपाल सम्बत, उधौली लगायत अवसरमा २९ असोजमा शुभकामना आदान–प्रदानसहित कार्यक्रम भृकुटीमण्डपमा गर्ने भएको हो । पार्टी पंक्तिबाहेक १ लाखलाई निमन्त्रणा पत्र नै पठाउने नेकपाको तयारी छ ।

यस्तै नेपाली काँग्रेसले असोज २६ गते कोजाग्रत पूर्णिमाको दिन चियापान कार्यक्रम गर्ने भएको छ । नेपाली काँग्रेसका प्रवक्ता विश्वप्रकाश शर्माले असोज २६ गते कोजाग्रत पूर्णिमाको दिन दशैं, तिहार र छठको अवसर पारेर पार्टीले चियापान कार्यक्रम आयोजना गर्न लागेको जानकारी दिनुभएको हो । चियापान पार्टी कार्यालयमा हुनेछ