काठमाडौं । गैरआवासीय नेपाली संघ (एनआरएनए)को आगामी नवौं विश्व सम्मेलनका अवसरमा एनआरएनए खेलकुद प्रतिष्ठानले विभिन्न पाँच खेलकुद कार्यक्रमहरु आयोजना हुने भएको छ ।
शुक्रबार एनआरएनए सचिवालय बालुवाटारमा आयोजना गरिएको एक पत्रकार सम्मेलनमा खेलकुद प्रतियोगिता आयोजना गर्न लागिएको एनआरएनए युवा तथा खेलकुद समितिका संयोजक सुदन थापाले बताउनु भयो ।
गैरआवासीय नेपाली संघको आयामलाई फराकिलो बनाउन र बाहिर रहेका खेलकुदसंग जोडिएका पहिलो र दोस्रो पुस्ताका गैरआवासीय नेपालीलाई एनआरएनएको औपचारिक अभियानमा गैरआवासीय नेपाली संघ खेलकुद प्रतिष्ठानको विकास गर्न लागिएको कार्यक्रममा बताइयो ।
त्यस अवस्थामा दोस्रो पुस्ताको एनआरएनलाई यस अभियानमा जोड्ने माध्यम खेलकुद नै भएको हुँदा ‘एनआरएनए स्पोर्ट्स एकेडमी’ को निर्माण अपरिहार्य रहेको एनआरएनए युवा तथा खेलकुद समितिले जारी गरेको विज्ञप्तिमा उल्लेख छ ।
उक्त अवसरमा गैर आवासीय नेपाली संघका अध्यक्ष भवन भट्टले ‘एनआरएनए स्पोर्ट्स एकेडमी’को लोगो सार्वजनिक गर्नु भयो । समितिले आयोजना गर्ने पाँच खेलकुद कार्यक्रमहरु एनआरएनए हेरिटेज वाकथन,एनआरएनए स्पोर्ट्स मिट,चौथों एनआरएनए फुट्सल टुर्नामेन्ट,पहिलो एनआरएनए गल्फ च्याम्पियनसिप, पहिलो एनआरएनए पेंटिंग एग्जिभेसन उल्लेख छ ।
उक्त कार्यक्रममा संसारबाट पाल्नु हुने गैरआवासीय नेपाली साथीहरु तथा सम्बन्धित पक्षहरुलाई सक्रिय सहभागिता र सहयोगका लागि अनुरोध गरिएको छ ।

