बिहिबार, चैत १५, २०८०

सङ्घीयता नचाहनेहरु परास्त भइसके : पण्डित

कैलाली । सङ्घीय मामिला तथा सामान्य प्रशासनमन्त्री लालबाबु पण्डितले सङ्घीयता नचाहनेहरु परास्त भएको बताएका छन् ।

सङ्घीय मामिला तथा सामान्य प्रशासन मन्त्रालय र स्थानीय विकास प्रशिक्षण प्रतिष्ठानले संयुक्तरूपमा मंगलबार धनगढीमा आयोजना गरेको अन्तरतह समन्वय तथा स्थानीय तहको क्षमता विकाससम्बन्धी अन्तरक्रिया कार्यक्रममा उनले सङ्घीयता र गणतन्त्रविरोधीहरु अहिले पनि निहुँ खोज्ने गरेकाले उनीहरुलाई व्यवहारबाट परास्त गर्नुपर्ने बताए ।

मन्त्री पण्डितले सङ्घीयतालाई सफल बनाउन जनताले आशा गरेअनुसार प्रतिफल दिने गरी आत्मविश्वासका साथ काम गर्न जरुरी रहेको बताए । सङ्घीयतालाई सफल बनाउन तथा कार्यान्वयनका दिशामा अगाडि बढाउन नसके खाली आलोचना र जनताका दृष्टिकोणबाट कमजोर हुने उनको भनाइ थियो ।

सुदूरपश्चिम प्रदेशका आर्थिक मामिला तथा योजनामन्त्री झपटबहादुर बोहराले कुनै पनि कामका लागि प्रदेश सरकार स्थानीय सरकारसँग हातेमालो गरी अघि बढ्न तयार रहेको बताए ।

कार्यक्रममा सुदूरपश्चिम प्रदेशका ८८ वटै स्थानीय तहका प्रमुख तथा उपप्रमुख, प्रशासकीय अधिकृत, जिल्ला समन्वय समितिका सभापति, प्रदेश सरकारका मुख्य न्यायाधिवक्ता र निमित्त मुख्य सचिव, सङ्घीय मामिला तथा सामान्य प्रशासन मन्त्रालयका सचिव, स्थानीय विकास प्रशिक्षण प्रतिष्ठानका कार्यकारी निर्देशकलगायतको सहभागिता थियो ।