शनिबार, बैशाख १२, २०८३

टोकियोमा दुई पक्षिय छलफल : जलविद्युत् क्षेत्रमा लगानी गर्न जापान सकारात्मक

जापान । नेपालको जलविद्युत् क्षेत्रका थप लगानी गर्ने विषयमा जापानी नियोग जाइका सकारात्मक देखिएको छ । 

जापान भ्रमणमा रहेका ऊर्जा, जलस्रोत तथा सिँचाइमन्त्री वर्षमान पुन र जाइकाका कार्यकारी उपाध्यक्ष काजुहिको  कोशिकावाबीच भेटवार्तापछि जाइका नेपालको उर्जा क्षेत्रमा थप लगानी गर्ने विषयमा सहमत भएको छ । 

ऊर्जामन्त्री पुनसँगको भेटपछि जाइकाका उपाध्यक्ष कोशिकावाले लगानीको सुरक्षित रहे नेपालको जलविद्युतमा योगदान गर्न तयार रहेको प्रतिबद्धता जनाए । उनले ऊर्जा क्षेत्रमा लगानी मात्र नभएर क्षेत्रीय आवश्यकता पनि पूरा गर्ने विषयमा आफूहरूको ध्यान केन्द्रित रहेको बताए ।

नेपालको ऊर्जा क्षेत्रमा लगानी गर्ने विषयमा जापानी संस्था जाइकाले सन् २०१४ देखि सन् २०१८ सम्म नेपालमा जलविद्युत् क्षेत्रमा सम्भाव्यता अध्ययन गरिसकेको छ । ऊर्जा क्षेत्रमा सम्भाव्यता अध्ययनसँगै नलगाड जलविद्युत् आयोजनामा सहयोग गर्ने थप प्रतिबद्धता जनाएको छ ।

नलगाड जलविद्युत् आयोजनाको सबै अध्ययन पूरा भइसकेको छ । जाजरकोटमा पर्ने भेरी र कर्णाली नदीको संगम स्थलनजिक नलसिंगाड नदीमा निर्माण गर्ने भनिएको १ सय १७ मेगावाटको आयोजना सार्वजनिक–निजी–साझेदारी (पिपिपी) मोडलमा निर्माण गर्न जाइकाले इच्छुक देखिएकाे छ ।

जाइकाको उपाध्यक्ष कोशिकावासँगको भेटमा मन्त्री पुनले कुलेखानी जलाशय, कन्काई सिचाँइ आयोजना लगायतको क्षेत्रमा जापानले गरेको सहयोग स्मरणीय भएको बताएका छन् । मन्त्री पुनले भक्तपुरदेखि बनेपासम्मको सडक विस्तारमा जापानी लगानीको खाँचो रहेको औंल्याए सो सडकलाई प्रधानमन्त्री केपी शर्मा ओलीले समेत प्राथमिकतामा राखेको जानकारी गराए ।  नेपालमा उत्पादित बिजुली भारतलगायत क्षेत्रीय देशहरूमा प्रसारण लाइन विस्तार गर्ने विषयमा प्रारम्भिक सर्वेक्षणको काम भइरहेको बताए ।

१०६० मेगावाटको अपर अरुणमा भारतको लगानी रहेको र  थप लगानी आवश्यक रहेको जानकारी गराए ।  जापानले अपर तामाकोसीको जोखिम न्यूनीकरण गरेर क्षतिपूर्तिको मागसमेत गरेको छ । मन्त्री पुनले आज दिउँसो नेपालको जलविद्युत क्षेत्रमा थप लगानी भित्र्याउने विषयमा जापानी लगानीकर्तासँग छलफल गर्ने कार्यक्रम छ । मन्त्री पुनले जापानको लगानी सुरक्षित गर्ने ग्यारेण्टी गर्दै नयाँ आयोजनामा साझेदार गर्ने आग्रह गरेका छन् ।

पोखराको आसपासमा विद्युत् विस्तारका लागि प्रशारण लाइनमा बिस्तारका लागि जाइकाको लगानी जरुरी रहेको बताएका छन् । आगामी १० वर्षमा नेपालले १५ हजार मेगावाट विद्युत् उत्पादन गर्ने लक्ष्य राखेको र उत्पादित विजुली बेच्नका लागि भारत र बंगलादेशसँग सम्झौता भइसकेको जानकारी जाइकालाई गराए ।

उत्पादित विजुली कहाँ बेच्ने भन्ने समस्या नभएको भन्दै लगानीकाे सुनिश्चितता रहन अाग्रह गरे । लगानी जोखिमको विषयमा अर्थ मन्त्रालयले जोखिमको न्यूनिकरण प्रस्ताव नियमावली बनाइसकेको जानकारी गराए ।

त्यस्तै विद्युत् प्राधिरकणका कार्यकारी निर्देशक कुलमान घिसिङ तनहुँ जलविद्युत् आयोजनामा जापानले लगानी गर्दा धेरै जोखिम उठाउन नपर्ने प्रतिबद्धता व्यक्त गरे ।