शनिबार, बैशाख १२, २०८३

एशिया प्यासिफिक क्षेत्रीय सह-संयोजकमा कपिलदेव थापाले उम्मेदवारी दिने

जापान । गैरआवासीय नेपाली संघको स्थापनाकालदेखिनै एनआरएनए अभियानमा निरन्तर लागेका वर्तमान आईसिसी सदस्य कपिलदेव थापाले एशिया प्यासिफिक क्षेत्रीय सह संयोजकमा उम्मेदवारी दिने भएका छन् ।

विगत ३२ बर्षदेखी जापानवाट एनआरएनए अभियानमा लागेका थापा परदेश र घरदेशमा रहने नेपालीहरुको पक्षमा निरन्तर सामाजिक क्रियाकलाप सञ्चालन गर्दै आएका गैरआवासीय नेपाली सङ्घका एक अगुवा अभियन्ता हुन् ।
एनआरएनए जापानको सदस्य, उपाध्यक्ष हुँदै एनआरएनए आईसीसीका विभिन्न सामाजिक समितिहरूमा सदस्य, सह–संयोजक एवम् संयोजकको जिम्मेवारी सम्हालेर एनआरएन अभियानमा खारिएका व्यक्ति थापा हाल जापानवाट आईसिसी सदस्य, एनआरएनएको मानवीय कल्याणकारी सहयोग समिति एसिया प्यासिफिक आइसीसीका संयोजक कृषि प्रवर्द्धन समिति एनआरएनए आईसीसीका सहसंयोजक रहेर सामाजिक काममा निरन्तर सक्रिय छन् ।
नेपाल लाईब्रेरी फाउण्डेसनका अध्यक्ष समेत रहेका थापाले नेपालका विभिन्न जिल्लामा स्वास्थ्य, शिक्षा, खानेपानी, कृषि, एम्बुलेन्स सेवा लगायतका विविध सामाजिक क्षेत्रमा काम गर्नुका साथै अपाङ्गता भएका व्यक्तिका निम्ति सयौँको सङ्ख्यामा जापानबाट व्हिलचियर र दुर्गम गाउँबस्तीका नेपालीका लागि स्वास्थ्य सेवा गर्ने उद्देश्यले एम्बुलेन्सहरू संकलन गरी नेपालमा आवश्यकताअनुसार व्यक्ति तथा संघ–संस्थालाई उपलब्ध गराउँदै आएका छन् ।
उनले आफ्नो पहलमा हालसम्म पाँच सयभन्दा बढि व्हिलचियर उपलब्ध गराएका छन् भने थप हजार थान व्हिलचियर नेपाल भित्र्याएर वितरण गर्ने प्रक्रियामा रहेको जानकारी दिएका छन् । यस्तै, हालसम्म चारवटा एम्बुलेन्सस उनले नेपालका विभिन्न स्थानमा उपलब्ध गराएका र थप ६ वटा एम्बुलेन्स भित्र्याउने पहलकदमी लिइरहेको बुझिएको छ ।
यति मात्र नभई देशभरका कृषकहरूलाई सहयोग हुने गरी एनआरएनए मुना मार्टको अवधारणाका साथ कृषिलाई अघि बढाउने एनआरएनए आईसीसीको कृषि प्रवर्द्धन समितिको टिमका उनी एक अगुवा सदस्य हुन् भने राज्यको सबै स्कुल र समुदायमा एउटा पुस्तकालय हुनैपर्छ भन्ने अभियानलाई पनि उनले व्यवहारिक रूपमा साकार पर्ने क्रमलाई निरन्तरता दिँदै आएका छन् ।
नेपालका विभिन्न स्थानमा आठवटा विद्यालय भवन निर्माण गराइसकेका उनले नेपाली बालबालिकाहरूका निम्ति आवश्यक शैक्षिक सामग्रीहरू वितरण गर्दै आएका छन् । यस्ता खाले सबै सामाजिक कामहरूमा एनआरएनएन आइसीसी, एनआरएनए जापान, जापानवासी नेपाली र जापानी मित्रहरूका साथै विभिन्न संघ–संस्थाबाट आफूलाई अतुलनीय सा–सहयोग मिल्दै आएको कपिलदेव जानकारी गराउँछन् ।
आफ्ना यस्तै कार्यहरूको दायरा बढाउने, आधा–अधुरा कामहरूलाई पूर्णता दिने र गैरआवासीय नेपाली सङ्घको छवि प्रज्ज्वलित तुल्याउँदै सङ्घलाई समयानुकुल ढङ्गले अझ गतिशील तुल्याउने अभिप्रायबाट उत्प्रेरित हुँदै आफूले यो पटक एशिया प्यासिफिक सह–संयोजकको पदमा उम्मेदवारी दिन लागेको सामाजिक अभियन्ता कपिलदेव थापाको प्रष्टोक्ति छ ।
सहमति र सहकार्यका साथै इमानदारीता र पारदर्शितालाई आफ्नो सामाजिक जीवनको मूल आधार मान्दै आएका थापा जापानलाई कर्मथलो बनाए पनि विश्वभर छरिएका एनआरएन सदस्यहरूमाझ सुपरिचित पात्र हुन् ।


आफ्नो यही लोकप्रिय छविलाई माध्यम बनाएर उल्लेखित कार्यहरूका अलावा संघको उद्देश्य तथा दायराभित्रका यावत कार्यहरूलाई अब एशियाका विभिन्न देशबाट सुरु गर्न सकिने सम्भाव्यतालाई मध्यनजर गर्दै आफूले उम्मेदवारी दिन लागेको जानकारी उनले दिए ।
एनआरएनए एउटा सामाजिक अभियान भएकोले यसको मर्मलाई आत्मसात गरी कर्मलाई निरन्तरता दिने र यसका लागि सबैबाट विगतमा जस्तै सहयोग र सुझावको अपेक्षा आफूले राखेको पनि कपिलदेव थापाले हामीसगँको कुराकानीमा वताएका छन्  ।