काठमाडौं । शनिबार राति २ बजे नै खप्तड छान्ना गाउँपालिका ६ बझाङका नरेश खड्का काठमाडौंको नयाँ बसपार्कमा पुगे। उनी त्यहाँ पुग्दा टिकट काट्नेको लाइन करिब १०० मिटर भन्दा टाढा पुगिसकेको थियो।
खड्का पनि त्यसै लाइनको पछाडि लागे। खड्कासँगै आएका सोही ठाउँका कमल थापाहरुको टोली राति २ बजे लाइनको अन्तिममा थियो। राति लाइन नसर्ने भएपछि उनीहरु लाइन लागेकै ठाउँमा रात बिताउन बाध्य भए।
उज्यालो भएपछि लाइन त घुम्दै घुम्दै करिब १ किलोमिटर बराबर टाढासम्मको पुगिसकेको थियो। लाइन सिधा नभएर ५०/६० मिटरको अन्तरमा घुम्दै धेरै टाढा पुगेको खड्का बताउँछन्।
टिकट काट्नका लागि तोकिएको समय ६ बजे थियो। तर ६ बजे सुरु भएन। टिकटका लागि लाइनमा बसेका यात्रुहरु अताल्लिए।
खड्काले दुखेसो पोख्दै भने, ‘सरकारले ५ गतेदेखि टिकट खुला गर्ने भनेको झुटा त होइन भन्ने लागिरहेको थियो। सँगै लाइनमा बसेका यात्रुहरु पनि आज ५ गते भए नभएको कन्फ्युज जस्तै थिए। जब साढे ६ बज्यो टिकट काउन्टर पनि खुले त्यसपछि मन शान्त भयो।’
मध्ये राति २ बजेदेखि लाइनमा लागेका नरेश खड्काको समूहले बिहान १० बजे ८ घण्टापछि मात्र टिकट काट्ने पालो पाए। काठमाडौं–बझाङ्ग सिधै जाने बसको लागि ८ घण्टा कुर्दा पनि टिकट पाएनन्। उनीहरुलाई १९ गतेसम्मकै बुकिङ भइसकेको काउन्टरबाट बताइएपछि उनीहरुले धनगढीसम्मको टिकट काटेको बताए।
गत भदौ २६ गते बसेको यातायात व्यवस्था विभाग, महानगरीय ट्राफिक महाशाखा र यातायात व्यवसायी महासंघको संयुक्त बैठकले गरेको सम्झौता अनुसार ५ गतेदेखि खुल्ने अग्रीम बुकिङ्ग टिकटमा एक जनाले ४ टिकट मात्र लिन पाउने सम्झौता छ। तर टिकट काउन्टर व्यवस्थित नहुँदा कसैलाई १ टिकट पनि पाउन मुस्किल र कसैलाई ५/६ वटा पनि दिइएको उनले गुनासो गरे।
यता यातायात व्यवसायी महासंघका महासचिव सरोज सिटौला ‘एकदमै हर्षोल्लाहका साथ टिकट बितरण भइरहेको’ बताउँछन्। डिसी नेपालँंग कुरा गर्दै महासचिव सिटौलाले भने, ‘५ गतेदेखि अग्रीम टिकट खुला गर्ने सम्झौता अनुसार आजबाट टिकट काट्ने यात्रुहरुले सभ्य, सहज तरिकाले टिकट काटेका छन्। उनीहरुपनि हर्षोल्लाह, उत्साहका साथमा व्यवस्थित तरिकाले टिकट काटेका छन्।’
उनले ठाउँठाउँका टिकट काउन्टर नजिक नागरिक सहायता कक्ष बनाएको बताए। उनले भने, ‘यात्रुलाई असहज नहोस् भन्नका लागि बिभिन्न टिकट काउन्टरहरुमा यात्रु सहायता कक्ष बनाएका छौं। यात्रुहरुलाई स–सानो कुराहरुमा अप्ठेरो भएपनि यात्रु सहायक कक्षबाट सहायता लिन सकिन्छ।’
‘सुरक्षित यात्रा, हाम्रो अभियान’ भन्ने मुल नाराका साथमा व्यवसायी महासंघले नागरिकको यात्रा सुरक्षितको लागि सिट भन्दा बढी यात्रु नराख्ने, तोकिएको भन्दा बढी भाडा नलिने, लामो यात्रामा २ जना चालक अनिवार्य राख्ने सहमति अनुसार नै व्यवसायी महासंघ लागेको उनले बताए।
दशैंको समयमा १८/२० लाख यात्रु उपत्यकाबाट बाहिरिने उनको अनुमान छ। पुराना गाडिहरुले नै दशैंको समयमा ओहोरदोहोर गर्नसक्ने हुँदा नयाँ गाडीहरु थप्नु नपर्ने उनको बुझाई छ।

