आइतबार, बैशाख १३, २०८३

दुई तिहाईको सरकारलाई देउवाको आरोपै आरो

काठमाडौं । प्रमुख प्रतिपक्षी दल नेपाली कांग्रेसले दुई तिहाईको बलमा सरकार संविधान विरोधी कार्य गर्न उद्धत रहेको आरोप लगाएको छ ।

संघीय संसदको चौथो अधिवेशन अन्त्य हुँदै गर्दा प्रतिनिधिसभाको विहिबारको तेश्रो बैठकमा बोल्दै प्रमुख प्रतिपक्षी दल नेपाली कांग्रेसका संसदीय दलका नेता शेर बहादुर देउवाले एक पछि अर्को गर्दै सरकार संविधान विरोध कार्य गर्न उद्धत रहेको आरोप लगाए ।

कार्यपालिका, व्यवस्थापिका र न्यायपालिकाबीच शक्ति पृथकिकरण तथा शक्ति सन्तुलनको संबैधानिक व्यवस्था विपरित सरकारले न्यायपालिका माथि हस्तक्षेप गर्ने र व्यवस्थापिका संसदलाई खेलौना बनाउने काम गरेको दाबी उनले गरे ।

संबै संवैधानिक निकायहरु स्वतन्त्र हुनुपर्नेमा सरकारले मानवअधिकार आयोग माथि नियन्त्रण गर्ने काम गरेको तथा सरकारका कामकारवाहीलाई निगरानी गर्ने स्वतन्त्र आयोगहरु लाई पनि नियन्त्रणमा राख्ने काम भएको उनले जिकिर गरे ।

उनले संघीय संरचना अनुसार तीनै निकायमा अधिकार बाँडफाँड गर्नुको सट्टा सरकार अधिकारको दुरुपयोग गर्दे संघीय सरकारको शक्तिलाई सर्वशक्तिमान बनाउने काममा लागेको आरोप लगाए । उनले संविधानको भावना विपरित सरकारका सबै गलत क्रियाकलाप विरुद्धमा नेपाली कांग्रेसले संसदमा कडा प्रतिवाद गर्ने चेतावनी दिए ।

संविधान विपरित सरकारले संचार जगतलाई नियन्त्रण गर्ने, राजनीतिक आस्थाको आधारमा सरकारी संचारमाध्यममा कार्यरतलाई हटाउने लगाय प्रेस तथा अभिव्यक्ति स्वतन्त्रतामाथि प्रहार गर्ने काम गरेको टिप्पणी गरे । सरकार गठनको डेढ बर्ष पुग्दा सम्म संविधानको सर्वस्वीकार्यता कायम गर्दै संविधानको मर्म र भावना अनुरुप संघीयता कार्यान्वयनको बाँकी कार्यभार पूरा गर्न असफल हुनु अन्त्यन्तै दुखद पक्ष भएको टिप्पणी उनले गरे । उनले सुरक्षा जस्तो संवेदनशील विषयमा संविधान विपरित कानुन बनाउने, प्रतिपक्षी दलको विरोधका बाबजुत संसदबाट वलजफ्ती विधेयक पारित गर्ने, विवादास्पद विधेयक बनाउने काममा सरकार अग्रसर भएको बताए ।

वाईडवडी, न्यारो वडी, सुनकाण्ड, बालुवाटार जग्गा प्रकरण लगायतले सबै भन्दा ठूलो भ्रष्टाचारका घटना वर्तमान सरकारको समयमा भएको पुष्टी भएको भन्दै उनले सम्पूर्ण राज्य संरचना नै भ्रष्टिकरण उन्मुख भएको दाबी गरे ।

सरकार महिला हिंसा नियन्त्रण र शान्ति सुरक्षाको प्रत्याभुतिमा पुर्णरुपमा असफल भएको टिप्पणी गरे ।

प्रजातन्त्रको खिलापमा संलग्न माथि कारवाही नभएर सदन नै अवरुद्ध गर्नु पर्ने स्थिति श्रृजना भएको भन्दै उनले कानुनको पालनमा गम्भीर बन्न सरकारको ध्यानाकर्षण गराए ।

वर्तमान सरकार बनेपछि अकाशिएको बजार मूल्य चाडपर्व नजिकिए सँगै बढेको, कर वृद्धि गरेकाले व्यवसायीहरु मर्कामा परेको, सरकारको कार्यशैलीका कारण सर्वसाधरण्मा असन्तुष्टी बढेको भन्दै उनले आफ्ना काम कारवाहीमा सुधार ल्याउन सरकारलाई आग्रह गरे ।

तराईका जिल्लामा बाढी र डुबानबाट प्रभावितका लागि राहत तथा पुर्नस्थापनाको काम प्रभावकारी हुन नसकेको तथा दिर्घकालिन समस्या समाधानका लागि कुटनीतिह पहल नभएकोमा उनले असन्तुष्टी जनाए । देउवाले सरकारको आर्थिक सम्मृद्धिको नारा कोरा मात्रै भएको टिप्पणी गरे ।