बुधबार, बैशाख १२, २०८१

प्रधानमन्त्रीले भने – ‘गोला थुत्नै नजान्नेलाई त के भनुँ र ?’ पेच परेपछि अर्थमन्त्री हाँसे

काठमाडौं। नयाँ बन्ने संसद भवनको आज शिलान्यास भएको छ । सिंहदरबारको पुतली बगैंचामा बन्ने भवनको प्रधानमन्त्री केपी शर्मा ओलीले आज उद्घाटन गरे । १७३ रोपनी क्षेत्रफलमा बन्ने यो भवन ३ वर्षमा निर्माण सम्पन्न हुने गरी काम सुरु गरिएको हो । यसको अनुमानित लागत ९ अर्ब रुपैयाँ बताइएको छ ।

भवनको शिलान्यास गर्ने क्रममा प्रधानमन्त्रीले गरेको एउटा ठट्टा निकै चर्चाको विषय बनेको छ । शिलान्यासपछि बोल्दै प्रधानमन्त्री ओलीले यो भवन तोकिएकै समयमा बन्ने र त्यसपछि सांसदहरु यसै भवनमा सर्ने बताएका थिए । यस क्रममा राष्ट्रियसभामा गोलाप्रथाबाट जाँदा २ वर्ष र ४ वर्ष कार्यकाल परेर गएका सांसदहरुको भने यो भवन बन्दासम्म कार्यकाल नै सकिने भएकोले उनीहरु त बस्न पाउँदैनन् भन्ने प्रसंग उठ्यो ।

यस प्रसंगमा प्रधानमन्त्रीले ठट्टा गर्दै भने ‘गोला थुत्नै नजान्नेलाई त के भनुँ र ? जान्नेहरु यो भवनमा बस्न पाउनुहुन्छ ।’ प्रधानमन्त्रीको यो ठट्टाले साथमै रहेका अर्थमन्त्री युवराज खतिवडालाई पेच पर्यो । गोलाप्रथामा खतिवडालाई २ वर्षको कार्यकाल परेको थियो । प्रधानमन्त्रीको कुराले पेच परेपछि अर्थमन्त्री खतिवडा मुसुमुसु हाँस्दै बसे । उनको कार्यकाल यसै वर्ष सकिँदैछ । ४ वर्ष कार्यकाल परेका सांसदहरुको पनि २ वर्षपछि कार्यकाल सकिँदैछ । यो भवन बन्न भने ३ वर्ष लाग्ने भएकोले उनीहरुको यो भवन बनेर सकिँदासम्म कार्यकाल नै सकिनेछ ।