काठमाडौं । भाद्र शुक्ल तृतीयाका दिनमा मनाइने हरि तालिका (तीज) पर्व आज महादेवको पूजा आराधना गरी मनाइँदैछ । भाद्र शुक्ल तृतीयामा व्रत बसी शिव पार्वतीको पूजा, उपासना गरेमा सुख, शान्ति र परिवारको कल्याण हुने धार्मिक विश्वास छ ।
विवाहित महिलाले श्रीमानको दीर्घायुको कामनाका लागि र अविवाहितले सुयोग्य वर पाउनका लागि तीज व्रत बस्ने गरेको सामाजिक चर्चा छ । तर, शास्त्रीय मत भने महिला र पुरुष दुवैले तीजको व्रत गर्नुपर्ने रहेको धर्मशास्त्रविद एवम् नेपाल पञ्चांग निर्णायक समितिका अध्यक्ष प्रा. डा. रामचन्द्र गौतमले बताउँछन् ।
‘अटल सौभाग्यको कामनाका लागि, सन्तान प्राप्तिका लागि, अविवाहित केटी एवं केटाहरुले असल वर र वधु प्राप्तिका लागि पनि तीजको व्रत बस्ने शास्त्रीय विधान छ’, उनले भने । प्रा. डा. गौतमका अनुसार तीजको व्रत बस्ने पुरुषले गुण सम्पन्न वधु पाउने र विधुर हुनु नपर्ने विश्वास गरिन्छ ।
नारीले परिवारको प्रतिनिधित्व गरी व्रत बस्ने गरेको बताउँदै उनले यदि नारी व्रत बस्न नसक्ने अवस्था भएमा वा रजस्वला भएमा पुरुषले पनि तीजको व्रत बस्न सक्ने बताए ।

