शनिबार, बैशाख ०८, २०८१

चीनमै योजना बनाएर नेपाल प्रवेश, विदाको दिन एटिएम लुटेर भोलिपल्टै चीन फर्किने दाउ

काठमाडौं। नेपाली बैंकका एटिएम मेसिनको सिस्टम ह्याक गरेर बैंकका ग्राहकको खाताबाट अवैध रुपमा करोडौं रकम निकाल्ने चिनियाँ गिरोहले चीनमै योजना बनाएर नेपाल प्रवेश गरेको खुलेको छ । उनीहरु चीनमा योजना बनाएर नेपाल प्रवेश गरी नेपालमा विदा भएको दिन बैंकको एटिएम लुटेर भोलिपल्टै चीन फर्किने योजनामा थिए ।

उनीहरु शुक्रबार मात्रै चीनबाट नेपाल आएका थिए । शुक्रबार नेपाल आएर शनिबार नेपालमा विदा भएको दिन एटिएम लुटेर तत्कालै चीन फर्किने उनीहरुको योजना थियो । उनहिरुले शनिबार एटिएमबाट पैसा निकाल्ने क्रममा सम्बन्धित बैंकले एटिएम बुथबाट अस्वभाविक रुपमा रकम निकालिएको देखिएपछि प्रहरीलाई खबर गरेको थियो । उनहिरुलाई हिजो बेलुकी नै पक्राउ गरिएको हो ।
महानगरीय प्रहरी परिसरका प्रवक्ता होविन्द्र बोगटीका अनुसार सूचना पाएपछि प्रहरी दरबारमार्गस्थित नबिल बैंकको एटिएम पुगेको थियो । त्यहाँ चिनिया नागरिक झु लियाङगाङले एटिएम बुथबाट नक्कली भिसा कार्ड प्रयोग गरेर पैसा निकाल्दै थिए । प्रहरीले उनलाई नियन्त्रणमा लिएर उनको चेकजाँच गर्दा २० थान नक्कली भिसा कार्ड भेटियो । त्यसपछि उनलाई सोधपुछ गर्ने क्रममा उनले आफूहरु बसेको होटलको जानकारी दिए ।

उनले दिएको जानकारीको आधारमा प्रहरी हात्तिसारस्थित माया मनोहरबुटिकमा पुग्यो । त्यहाँ प्रहरी पुग्दा त्यहाँ पहिल्यैदेखि रहेका ह्याकरहरु लिफ्ट प्रयोग गरेर भाग्ने प्रयास गर्दै गर्दा पक्राउ परे । उनीहरु बसेको कोठा नम्बर २०१, ६०२ र ६०४ मा खानतलासी गर्दा १३२ थान नक्कली भिसा कार्ड, १७ थान सक्कली भिसा कार्ड, १ थान कार्ड प्रिन्टर मेसिन, मोवाइल ६ थान, ल्यापटप १ थान, डाटा कार्ड एक थान बरामद गरेको छ ।

झु लियाङगाङले दिएको जानकारीका आधारमा होटलबाट लुओ जिआलेइ, लिन जियाङमेङ, क्यु युङकिङ र चेन बिन बिन पक्राउ परेका हुन् । उनीहरुको साथबाट नेपाली मुद्रा १ करोड २६ लाख २९ हजार ४५, अमेरिकी डलर ९ हजार १ सय ८, चिनिया युआन ११ सय ९१, युरो २५०, कम्बोडियन मुद्रा ५ हजार, हङकङ डलर ८० समेत बरामद गरिएको छ ।