आइतबार, बैशाख १३, २०८३

नेपालको आर्थिक समृद्धिका लागि गैरआवासीय एकैसुत्रमा बाँधिनु जरुरी : पन्त

पोर्चुगल । गैरआवासीय नेपाली संघका उपाध्यक्ष एवं आगामी अध्यक्षका प्रत्यासी कुमार पन्तले नेपालको आर्थिक समृद्धिका लागि विदेशस्थित गैरआवासीय नेपाली एकैसुत्रमा बाँधिनुको विकल्प नभएको बताउनुभएको छ । गैरआवासीय नेपालीको सञ्जाललाई विश्वव्यापी बनाई उनीहरुले नेपालको समृद्धि र आर्थिक विकासको निम्ति के योगदान गर्न सक्छन् भन्ने विषयमा संघको विशेष चासो रहेको उहाँको भनाई थियो ।

“अहिले दुई वटा कुरामा हाम्रो ध्यान केन्द्रित छ, गैरआवासीय नेपाली संघ पोर्चुगलको अधिबेशनका क्रममा त्यहाँस्थित नेपाली समुदायलाई सम्बोधन गर्दै उहाँले भन्नुभयो, पहिलो हामीभित्र रहेका आन्तरिक समस्या एवं गैरआवासीय नेपालीका हकहितका कुरा र दोश्रो गैरआवासीय नेपालीको जुन सञ्जाल छ, जहाँ ८० लाख नेपाली छन् उनीहरुले नेपालको समृद्धिको निम्ति अथवा नेपालको आर्थिक विकासको निम्ति के योगदान गर्न गर्छन् भन्ने विषयमा बृहत अध्ययन गरी त्यसका लागि उचित वातावरण तयार गर्नु ।

व्यक्तिगत रुपमा लगानी भित्रिरहेको वर्तमान अवस्थालाई संकेत गर्दै पन्तले भन्नुभयो, “अब भने त्यसलाई एकद्धार नीतिबाट सामूहिक रुपमा नेपालमा लैजाने विषयमा बृहत छलफल भइरहेको छ । हालसम्म व्यक्तिगत रुपमा मात्रै भएको लगानीलाई अब सामुहिक रुपमा लैजाने भनेर लागिरहेको छौँ, जसमा श्रमिकको सानो लगानी समेत समेटिनेछ ।” सामुहिक रुपमा गरेको लगानीले नेपालको समृद्धिमा ठूलो प्रभाव पार्ने उहाँको भनाई थियो ।