Nepali date


आइतवार, अशोज ५, २०७६

नेपाल एयरलाइन्सको ओसाकामा सिधा उडान

जापान । नेपाल एयरलाइन्सले पहिलो पटक जापानका लागि सिधा उडान थाल्दैछ । त्रिभुवन विमानस्थलबाट करीव साढे ६ घण्टाको उडानमार्फत ओशाकास्थित कान्साई विमानस्थलमा नेपाल एयरलाइन्सको जहाज अवतरण गर्नेछ ।

निगमका उपमहाप्रबन्धक गणेशबहादुर चन्दका अनुसार राति २:३० बजे हुने पहिलो उडानमा करिब ९० यात्रु सहभागी हुँदैछन् साथमा २५ जनाको नेपाली टोली पनि जापान जाँदैछ । टोलीका नेतृत्व संस्कृति, पर्यटन तथा नागरिक उड्डयन राज्यमन्त्री धनबहादुर बुढाले गर्ने भएका छन् । पहिलो उडानमा मन्त्रालयका सहसचिव, निगम सञ्चालक समितिका सदस्यहरु र व्यापारिक साझेदारहरुलाई पाहुनाका रुपमा सहभागी गराइनेछ ।

त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थलमा मध्यरातमा औपचारिक कार्यक्रम गरी टोलीलाई विदाई गरिने उपमहाप्रबन्धक चन्दले जानकारी दिए । जापानबाट नेपाल आउने क्रममा पनि औपचारिक कार्यक्रम गरी पहिलो उडानका यात्रुहरुलाई स्वागत गरिनेछ ।

एयरलाइन्सले वाइडबडी जहाज ए ३३०–२०० जहाजले यो रुटमा उडान गर्नेछ । वाइडबडीको यो पहिलो लामो दूरीको उडान हुनेछ, जसमा एकतर्फी उडान समय नै साढे ६ घण्टाको हुने नेपाल एयरलाइन्सले जनाएको छ । नेपाल एयरलाइन्सकै लागि भने ओशाका पुरानै गन्तब्य हो । तर यसअघि सिधा उडान भएको थिएन ।

काठमाडौंबाट चीनको सांघाईमा ट्रान्जिट उडान गरी जापान जाने गरेको थियो । ३० अक्टोवर १९९४ मा नेपाल एयरलाइन्सले जापानमा पहिलो उडान गरेको थियो ।
जापानको ओशाकामा नेपाल एयरलाइन्सले १२ अप्रिल २००७ सम्म जहाज उडाएको थियो । शुरुमा नेपाल एयरलाइन्सले ‘काठमाडौं–सांघाई–ओशाका’ रुट उडान थाल्दा सांघाईमा ट्रान्जिट गरी जापान जाने यात्रु दुई जना मात्र रहेको निगममा कार्यकारी अध्यक्ष मदन खरेलले जानकारी दिए ।

तर अब काठमाडौंबाट सिधा ओशाका उडान हुनेछ र नेपाल एयरलाइन्सले सातामा मंगलबार, बिहीबार र शनिबार गरी तीन उडान भर्नेछ । निगमका अनुसार सातामा तीन उडान गर्न कुल २५ जना पाइलट खटिनेछन्, त्यसमध्ये १५ पाइलट विदेशी हुन् ।

निगमलाई सहजै यात्रु प्राप्त हुने विमानस्थल भने जापानको टोकियोस्थित नारिता विमानस्थल हो । यहाँ भने सेड्युल उडानको अनुमति पाइसकेको छैन ।
आगामी जनवरीसम्म नारिता विमानस्थलमा पनि उडान भर्न अनुमति प्राप्त भइसक्ने निगमको भनाइ छ ।

दशैंको मुख पारेर यस विमानस्थलबाट दुई चार्टर्ड उडानको अनुमति भने निगमले पाएको छ । दशैंमा राम्रो अकुपेन्सीमा जापान उडान गर्ने निगमले बताएको छ ।

२७४ सिट क्षमताको वाइडबडी जहाजमा ७० प्रतिशत सिट भरियो भने उक्त उडान नाफामा जाने निगमको भनाइ छ । जापान उडान शुरु भएको केही समय भित्रै ८०–८५ प्रतिशत अकुपेन्सीमा यात्रु पाउने अनुमान निगमले गरेको छ । जापानमा नेपाली विद्यार्थी, कामदार र वर्षेनी करीव ३० हजार हाराहारीमा आउने जापानी पर्यटक नेपाल वायुसेवा निगमका मुख्य पाहुना हुनेछन् । निगमले गत वैशाखमा पहिलो पटक उडान अनुमति पाएको थियो ।

त्यसबेला निगमले भदौका लागि उडानको निर्धारण गरेको थियो तर, यात्रु नपाएपछि अन्तिम समयमा रद्द गर्नुपरेको थियो ।

फेसबुकबाट तपाइको प्रतिक्रिया