शुक्रबार, बैशाख ०७, २०८१

कर्मचारी समायोजनपछि गाउँपालिका रित्तै

रुकुम पूर्व । यतिबेला जिल्लास्थित पुथा उत्तरगङ्गा गाउँपालिका कर्मचारीविहीन बनेको छ। समायोजन भएर कर्मचारी गएपछि गाउँपालिका कर्मचारीविहीन बनेको हो । एकसठ्ठी जनाको दरबन्दी रहेको उक्त गाउँपालिकामा हाल दुई जना मात्र कर्मचारी छन् । क्षेत्रफलका हिसाबले जिल्लाको सबैभन्दा ठूलो सो स्थानीय तहमा १४ वडा छन् ।

जहाँ एक वडामा पनि वडासचिव छैनन् । सबै वडा खाली छन् । गाउँपालिकामा पहिले एक मात्र वडासचिव रहेका र एक जनाले वडा नं १० र ११ मा काम गर्दै आएका थिए। भएका एक सचिव पनि समायोजन भएर गएपछि गाउँपालिका नै वडासचिवविहीन बनेको हो । सडकको विस्तार नभइसकेको सो गाउँपालिकाको एउटा वडा कार्यालयबाट अर्को वडा कार्यालयमा पुग्न एकदेखि दुई दिन लाग्ने गर्दछ ।

भएका कर्मचारी पनि समायोजन भएर गएको तर समायोजन भएर गाउँपालिकामा कोही नआएको प्रमुख प्रशासकीय अधिकृत रवीन्द्र बुढाक्षेत्रीले बताए ।गाउँपालिकामा कर्मचारीको खडेरी भएपछि कार्यसम्पादनमा अफ्ठ्यारो भएको उनले बताए ।

कर्मचारी नभएपछि अहिले वडा कार्यालयमा वडा सचिवको काम स्वास्थ्यचौकी ईन्चार्ज मार्फत भईरहेको गाउँपालिका उपाध्यक्ष ओमकुमारी शाहीले बताए । साविकका गाविसमा रहेका स्वास्थ्यचौकी ईन्चार्जले साविकका गाविसअन्तर्गत अहिले जती पनि वडा समेटिएका छन् तीनै वडा हेर्ने जिम्मा दिइएको उहाँले जानकारी दिए ।

साविकका छ वटा गाविस मिलेर बनेको गाउँपालिकामा छ स्वास्थ्यचौकी रहेका र छ जना स्वास्थ्यचौकी ईन्चार्जले वडा सचिवको काम गरिरहेका उपाध्यक्ष शाहीले बताए । यस्तै भुमे गाउँपालिकामा पनि पर्याप्त मात्रामा कर्मचारी छैनन् । चौवन्न जनाको दरबन्दी रहेको गाउँपालिकामा पाँच मात्र स्थायी कर्मचारी छन् भने १८ करार कर्मचारी छन् ।

नौ वडा रहेको गाउँपालिकामा वडा नं ३, ६ र ७ मा गरी जम्मा तीन मात्र वडासचिव छन् । पर्याप्त मात्रामा कर्मचारी नहुँदा कार्यसम्पादनमा असजिलो भएको गाउँपालिकाका प्रमुख प्रशासकीय अधिकृत चन्द्रसिङ श्रेष्ठले बताए । कर्मचारी समायोजन भएर गएका तर, समायोजन भएर गाउँपालिकामा कोही पनि नआएकाले कार्यसम्पादनमा असहज भइरहेको गाउँपालिका अध्यक्ष रामसुर बुढामगरले बताए।

त्यसैगरी सिस्ने गाउँपालिकामा पनि पर्याप्त मात्रामा कर्मचारी छैनन् । जसले गर्दा कार्यसम्पादनमा अफ्ठ्यारो भइरहेको प्रमुख प्रशासकीय अधिकृत विमला रोकाले जानकारी दिए। पैतीस जनाको दरबन्दी रहेको गाउँपालिकामा नौ कर्मचारी स्थायी छन् भने तीन करार कर्मचारी छन् ।

भएका कर्मचारी समायोजन भएर गएपछि नयाँ केही मात्र आएकाले कामकाजमा समस्या भएको उनले बताए । आठ वडा रहेको गाउँपालिकामा वडा नं १, ४ र ६ नं वडा गरी जम्मा तीन वडामा मात्र वडासचिव छन् । अन्य वडामा कार्यालय सहायक र नजिकको स्वास्थ्यचौकी इन्चार्जले काम गरिरहेका प्रशासकीय अधिकृत रोकाले बताए ।

सङ्घीयताले जन्माएको नेपालको कान्छो जिल्ला रुकुम ९पूर्व० प्रदेश नं ५ को एक मात्र हिमाली र आफैँमा दुर्गम जिल्ला हो । तीन गाउँपालिकामा गरी जम्मा ३१ वडा छन् । तीमध्ये सात वडामा मात्र वडासचिव छन् । बाँकी २४ वडामा वडासचिव छैनन् । वडासचिव नहुँदा वडाबाट हुने दैनिक कामकाजमा समस्या हुने गरेको छ। रासस