आइतबार, बैशाख १३, २०८३

नेपाल एयरलाइन्सको मुगु उडान बन्द, मर्कामा यात्रु

रारा । विसं २०६३ असार १३ गते मुगुको रारा विमानस्थलमा सफल परीक्षण उडान गरेर नेपालगञ्जदेखि नेपाल एयरलाइन्सको ट्वीनअटर विमानले हप्तामा नियमित दुुई उडान गर्दै आएको थियो । तर गत वैशाखदेखि बिनाजानकारी उडान बन्द गर्दा यात्रु मर्कामा परेका छन् ।

गत वैशाख २६ गतेदेखि एयरलाइन्सले कुनै जानकारी नदिई यात्रुलाई दिँदै आएको सेवा बन्द गरेको छ । नेपाल एयरलाइन्सले हालसम्म जानकारीबिना नेपालगञ्ज–रारा उडान सेवा बन्द गर्दा यात्रु मर्कामा परेका हुन् ।

वाइ–१२ ई–साइनका चीनबाट ल्याएका र अन्य ट्वीनअटर विमानले नेपालगञ्जबाट जुम्ला, हुम्ला, बाजुरा, साँफेबगर, रुकुम र डोल्पामा आफ्ना उडान गरेर यात्रुलाई सेवा दिँदै आएको छ ।

चीनबाट ल्याइएका विमानको समेत रारा विमानस्थलमा सफल परीक्षण भइसकेको छ । अन्य ट्वीनअटरले विसं २०६३ असारमै परीक्षण गरेर हप्तामा दुई उडान गर्दै आएका थिए ।

यी जहाजले अन्य जिल्लामा उडान गर्दै आए पनि रारा विमानस्थलमा भने वैशाख २६ गतेदेखि उडान गरेको छैन । नेपालगञ्जबाट अन्य जिल्लामा हप्तामा दुई उडान भर्दै आएको नेपाल एयरलाइन्सले रारामा चार महीनासम्म कुनै उडान नभरेपछि यात्रु मर्कामा परेका हुन् ।

आफ्ना हरेक उडानमा नेपाल सरकार तथा विदेशी निकायका विशिष्ट व्यक्तिका लागि दुई, बिरामी, अपाङ्गता भएका व्यक्तिका लागि र विद्यार्थीका लागि एक÷एक सिट विशेष प्रथामिकतामा छुट्याउने गरेकाले प्रायःयात्रु नेपाल एयरलाइन्सबाटै यात्रा गर्ने गरेका थिए ।

अन्य निजी जहाजभन्दा भाडादर केही सस्तो भएकाले सर्वसाधारण यात्रु नेपाल एयरलाइन्समै यात्रा गर्ने गरेका थिए । तर, व्यवस्थापकीय कारणले गर्दा वैशाखदेखि सेवा बन्द भएपछि स्थानीय तथा अन्य यात्रु मर्कामा परेका एयरलाइन्सका रारा विमानस्थल इन्चार्ज वीरेन्द्रबहादुर मल्लले बताए ।

नेपालगञ्ज–राराका लागि नेपाल एयरलाइन्सले प्रतियात्रु पाँच हजार २३५ भाडा निर्धारण गरेको छ । अन्य निजी एयरलाइन्सले प्रतिव्यक्ति पाँच हजार ७३५ निर्धारण गरेका छन् ।

नेपालगञ्जदेखि रारा विमानस्थलमा हाल तारा, सीता र समिट एयरले दैनिक दुईदेखि चारसम्म उडान भर्ने गरेका छन् । नेपाल एयरलाइन्सको व्यवस्थापनको कमजोरीले गर्दा यात्रुले बाध्य भएर निजी एयरलाइन्सको सेवा लिनुपरेको उद्योग वाणिज्य संघका उपाध्यक्ष रत्नसिंह मल्ल बताउँछन् ।

यात्रुको सहजताका लागि रारा विमानस्थल र सदरमुकाम गमगढीमा नेपाल एयरलाइन्सले टिकट बिक्री काउन्टर स्थापना गरेको छ । चार महीनासम्म सेवा बन्द भएको भए पनि दुवै स्थानमा बिहान १०ः०० बजेदेखि बेलुका ५ः०० बजेसम्म कर्मचारी काउन्टर खोलेर बस्ने गरेका छन् । सेवा कहिलेबाट सञ्चालन हुने कसैलाई जानकारी नभएको कर्मचारी बताउँछन् ।