आइतबार, बैशाख १३, २०८३

‘मरिहालोस्’ भन्नेलाई प्रधानमन्त्रीको चुनौती– अर्को चुनावको सामना गर्न तयार भए हुन्छ

काठमाडौं। प्रधानमन्त्री केपी ओलीले आफ्नो स्वास्थ्यका बारेमा बाहिर आइरहेका चर्चा परिचर्चा खण्डन गर्दै विरोधीलाई चुनौतीपूर्ण जवाफ दिएका छन्। विरोधीले आफूलाई मरिहालोस् भनेर प्रचार गरेको उल्लेख गर्दै उनले आगामी निर्वाचनमा अस्तित्व रक्षाका लागि तयारी थाल्न चुनौती दिए। उनले आफू अझै १५ बर्ष मैदानमै रहने उद्घोष गरे।

संविधान दिवस तथा राष्ट्रिय दिवस मूल समारोह समितिको बुधबार गृहमन्त्रालयमा बसेको बैठकमा प्रधानमन्त्री ओलीले विरोधीहरुले आफूलाई कमजोर होस भन्ने चाहेपनि आफू अझै १५ वर्षसम्म मैदानमै रहने बताए।

‘अचम्म लाग्छ! विरोधीहरु कति कमजोर भएछन्, उ बाँचोस् तैपनि मुकाविला गर्छु भन्ने छैन। मरिहाले देखि हुन्थ्यो भनेर,’ उनले भने, ‘मलाइँ यस्ता प्रवृत्तिसँग केही भन्नु छैन। मरिगए हुन्थ्यो भन्ने चाहनेलाई आउँदो चुनाव पनि सामना गर्न तयार भएर बस्न भन्न चाहन्छु। आउँदो चुनाव टफ हुनेछ। अस्तित्व रक्षाको लडाइँ अहिले देखि नै सुरु गरे हुन्छ। यो मैले किन भनेको भनेँ, मरिहालोस् भनेर खुब प्रचार गर्या हुनाले फेरि निरास होलान् पछि भनेर। धेरै निरास नहुन् भनेर। अझै १५ बर्ष अखडामा हुन्छु । त्यसकारण पूजा अर्चना , प्रार्थना गरेर केही हुन्छ भने त्यो गर्न दिने मेरो विचार छ।’

केही दिन अघि सिंगापुर गएर स्वास्थ्य परीक्षण गराई स्वदेश फर्किएका प्रधानमन्त्री ओली बिहीबार फेरि उपचारका लागि नै सिंगापुर जाँदैछन्।