आइतबार, बैशाख १३, २०८३

रवि लामिछानेकी श्रीमतीको उजुरी लिन प्रहरीद्वारा अस्वीकार

काठमाडौं। आत्महत्या दुरुत्साहन अभियोगमा अनुसन्धानमा रहेका टेलिभिजनकर्मी रवि लामिछानेविरुद्ध प्रमाणहरु तोडमोड गरेको अभियोगमा रविकी श्रीमती निकिता पौडेलले तीन जनाविरुद्ध दिन खोजेको उजुरी प्रहरीले लिन अस्वीकार गरेको छ । निकिताले महानगरीय प्रहरी परिसर टेकुमा उजुरी दिन गएकी थिइन् ।

प्रहरीले यो उजुरी सरकारी वकिल कार्यालयमार्फत आउनुपर्नेमा सिधै आएको भन्दै यसरी उजुरी लिन आफ्नो क्षेत्राधिकारभित्र नपर्ने जवाफ दिएर निकितालाई फर्काएको छ । प्रहरीले फर्काएपछि निकिता जिल्ला सरकारी वकिलको कार्यालयतर्फ गएकी छिन् । निकिताले चितवनका प्रहरी प्रमुख एसपी दानबहादुर मल्ल, प्रेस काउन्सिल नेपालका कार्यवाहक अध्यक्ष तथा जनआस्था साप्ताहिकका सम्पादक किशोर श्रेष्ठ र नेपाल आज डटकमका संकेत कोइरालाविरुद्ध प्रमाण तोडमोड गरेको भन्दै उजुरी दिन चाहेकी थिइन् । उनीहरुले मृतक शालिकराम पुडासैनीले मृत्युअघि रेकर्ड गरेको भिडियो तोडमोड गरेको आरोप छ ।