आइतबार, बैशाख १३, २०८३

एक गाग्रो पानी लिन २ घण्टा लाग्ने गाउँका टोल टोलमा धारा

जाजरकोट । बारेकोट गाउँपालिका लैखम खालकाटीयाकी ५५ वर्षीया भद्रकला खत्रीको आधा जीवन खानेपानीको गाग्री बोकेरै बित्यो। उनलाई घरको अन्य कामकाजभन्दा पनि पानीकै चिन्ताले सताउने गरेको थियो । सोही ठाउँकी कमला खत्रीको पनि पीडा उस्तै थियो । पानीकै लागि ठूलै सङ्घर्ष गर्नुपरेको कमलाले बताए । घर नजिक पानी नहुँदा दुई घण्टा टाढा नमेलाखोला जानुपर्ने बाध्यता थियो भद्रकलालाई।

भद्रकला र कमला मात्र होइन, गाउँका १०० घरका महिलाको पीडा उस्तै थियो । एक गाग्री पानी लिन दुई घण्टा पैँदल हिँडेर नमेलाखोलाको नाउलामा जानुपर्ने, पालो कुरेर बस्नुपर्ने बाध्यता थियो।

त्यो विगतको पीडा अन्त्य भएको छ । घर नजिकै खानेपानीको सुविधा पुगेपछि महिलाहरु खुशीले गद्गद् छन्। खानेपानी आयोजना निर्माण गर्न बारेकोट गाउँपालिकाको रु ४८ लाख लागत र स्थानीयवासीको श्रमदानबाट खानेपानी निर्माण भएको बृहत खानेपानी उपभोक्ता निर्माण समितिका सचिव रणबहादुर खत्रीले बताए ।

लामो समयदेखि खानेपानी समस्या भोगेका गाउँका स्थानीयवासी पानी आएपछि खुशी भएका छन्। लैखमवासी १०० घरधुरीले खानेपानीको सुविधा पाएको गाउँपालिकाका अध्यक्ष महेन्द्रबहादुर शाहले बताए ।

बारेकोट गाउँपालिका–८ को पैरेखाली, खालकाटीया, रिमदारा, रातापोख्रा, पखेरी, माथिगाउँलगायत गाउँमा तीन वर्षपछि खानेपानी योजना बनेको स्थानीय ६८ वर्षीय मनबहादुर खत्रीले बताए ।

यो गाउँमा पानी आउँला भन्ने कल्पनासमेत कसैले गरेका थिएनन्। वर्षामा आकाशबाट आएको जम्मा गरेको पानी खानुपर्ने बाध्यता, हिउँदमा नाउलाको पानी खानुपर्ने समस्या अन्त्य भयो। अहिले धेरै सहज भएको छ, अर्का हरिबहादुर खत्रीले बताए । उक्त खानेपानीबाट १०० घरधुरीलाई पायक पर्ने गरी १४ धारा राखिएको छ। रासस