आइतबार, बैशाख १३, २०८३

अर्को निर्वाचनपछि मलाई पनि पदमा बस्न मन छैन : प्रधानमन्त्री ओली

काठमाडौं । प्रधानमन्त्री केपी शर्मा ओलीले सरकार उदारता देखाउँदै प्रतिगमनकारी गतिविधिलाई टुलुटुलु हेरेर नबस्ने चेतावनी दिएका छन् ।

सरकारको उदारता र संयमतालाई हेरेर केही तत्वहरु बढी नै हौसिएको उल्लेख गर्दै प्रधानमन्त्री ओलीले भने, ‘संवैधानिक दायरमा अघि बढ्ने कुरामा यो सरकार प्रशन्नतापूर्वक आलोचना स्वीकार गर्छ । तर, सरकारको आलोचनाका लागि प्रतिगमन ल्याउँछु, प्रणाली उल्ट्याँछौं भन्ने कुरा यो सरकारलाई स्वीकार्य हुँदैन ।

आइतबार प्रतिनिधिसभा बैठकलाई सम्बोधन गर्दै प्रधानमन्त्री ओलीले जनताको शासनविरोधी क्रियाकलाप नगर्न पनि चेतावनी दिए । ‘एकजनाले प्रधानमन्त्री लगलग कामेका छन्, पद जानेभो भने रे,’ प्रधानमन्त्री ओलीले भने,‘पद नगएको मानिस दुनियामा कोही देखेको छैन । राजा महाराजा, जनप्रतिनिधि सबैको पद कुनै न कुनै दिन जान्छ । आगामी निर्वानपछि आफूलाई पनि पदमा बस्ने कुनै रहर नभएको प्रधानमन्त्री ओलीको भनाइ छ । ‘आगामी निर्वाचनपछि मलाई पनि बस्न मन छैन । त्यसकारण निर्वाचनसम्म धैर्य गर्न साथीहरुलाई आग्रह गर्छु,’ प्रधानमन्त्री ओलीले भने, ‘केही प्रतिगामी तत्वहरु सडकमा आए भन्दैमा जनताले निर्वाचित गरेर सुम्पिएको जिम्मेवारीबाट सरकार लगलग काम्यो भन्ने दिवा सपना नदेखे हुन्थ्यो । यो सरकार चुनौतीको सामना गरेर आएको हो ।

सरकार लोकतन्त्रप्रति पूर्ण प्रतिवद्ध रहेको उल्लेख गर्दै प्रधानमन्त्री केपी ओलीले अधिनायकवादतर्फ गयो भन्ने खालका कुरा नगर्न भन्दै विपक्षीहरुलाई सचेत गराए । सरकार अधिनायकवादी भएको भन्ने खालका कुरा गर्दा जनताले पनि नपत्याउने प्रधानमन्त्री ओलीको भनाइ थियो ।

प्रधानमन्त्री ओलीले ‘समृद्ध नेपाल, सुखी नेपाली’ हनका लागि कानूनी राज तथा अशिक्षा र पछौटेपनाबाट अन्मुक्ति आवश्यक रहेको पनि बताए ।