काठमाडौं । उच्च अदालत पाटनले पक्राउ गर्न आदेश दिएपछि कर्णालीका भौतिक पूर्वाधार विकास मन्त्री खड्कबहादुर खत्रीलाई बिहीबार मुख्यमन्त्री महेन्द्र शाहीले पद मुक्त गरेका छन्। उनलाई बिहीबार अबेर पदमुक्त गरेको मुख्यमन्त्री शाहीको फेसबुकमाफर्त जानकारी दिइएको छ।
मुख्यमन्त्री शाहीको आधिकारिक फेसबुक पेजमा भनिएको छ, ‘माननीय मुख्यमन्त्रीज्यूले भौतिक पुर्वाधार विकास मन्त्री खडकवहादुर खत्रीलाई नेपालको संविधानको धारा १६९ को उपधारा (२) को खण्ड (ख) वमोजिम पदमुक्त गरि उक्त मन्त्रालयको जिम्मेवारी आफैले सम्हाल्ने निर्णय गर्नुभएको छ । उक्त निर्णय आजै प्रदेश प्रमूख दुर्गाकेशर खनाललाई जानकारी दिनुभएको छ ।’
गएको सोमबार उच्च अदालत पाटनले बैंकिंग कसुरमा खत्रीलाई पक्राउ गर्न आदेश दिएको थियो । उच्च अदालतका न्यायाधीशद्वय श्रीकान्त पौडेल र टेकप्रसाद ढुङ्गानाको इजलासले सोमबार मन्त्री खत्रीलाई पक्राउ गर्न आदेश जारी गरेको हो ।
सो अदालतको वाणिज्य इजलासले मन्त्री खत्रीसहित पाँच जनाले रु एक करोड १० लाख ८० हजारको कीर्ते बैंक ग्यारेन्टी गरेको उल्लेख गर्दै पक्राउ गर्न आदेश दिएको हो ।
उनीहरुले कृषि विकास बैंक भोजपुरबाट जारी गरेको कीर्ते बैंक ग्यारेन्टी बनाएर जिल्ला प्राविधिक कार्यालय भोजपुरमा पेश गरेको देखिएको ठहर भएको छ । खत्री बिहीबारै अदालतमा हाजिर भएका थिए। उनी हाल प्रहरीको हिरासतमा छन् । खत्री तत्कालिन नेकपा एमालेबाट विजयी विधायक हुन्। उनी नेकपा कर्णाली प्रदेश कमिटिका सह इन्चार्ज यमलाल कँडेल निकट मानिन्छन् ।

