राज्यका सबै विशेषाधिकार खोसिएको भारतको जम्मु–काश्मीरमा चार दिनदेखि कर्फ्यु छ । राजधानी श्रीनगरलगायत सडक चोक, गल्लमा सैनिक तैनाथ छन् । पूर्वमुख्यमन्त्रीहरु थुनिएका छन् । सर्वसाधारण घरबाट बाहिर निस्कन पाएका छैनन् । सञ्चार सेवा पूर्ण रुपमा बन्द छ । लामो समयदेखि द्वन्द्वको चपेटामा परेको काश्मीरबाट नेपाल आएर व्यापार व्यवसाय गर्दै बसेकाहरु यतिबेला आफ्नो थातथलो र आफन्तको चिन्तामा पिरोलिएका छन् ।
काठमाडौंका विभिन्न गल्लीमा कश्मिरीहरु छाला, हस्तकलाका सामान, पस्मिनाको व्यापार गर्छन् । मुस्लिमको प्रमुख चाड ईद आगामी सोमबार छ । चाड मान्न थातथालो गएकाहरुको खबर नपाउँदा यहाँ रहेकाहरुबीच चिन्ता छ । नयाँ बजारमा छालाको व्यापार गर्दै आएका काश्मीरका ६० वर्षीय अब्दुलअमिद खान सोमबार श्रीमती अमिना बानु र छोरा कैउमसहित इद मनाउन घर गएका थिए । संयोगवश त्यही दिन ७० वर्ष अघिदेखि विशेषधिकार प्राप्त राज्य काश्मीरको भारतीय प्रधानमन्त्री नरेन्द्र मोदी सरकारले खारेज गरिदिएको यिो । अहिले उनीहरुको अत्तोपत्तो छैन । खान परिवार काश्मीरमा असुरक्षित महसुस भएर ३० वषर््देखि नेपालमा बस्दै आएका थिए । कान्तिपुरमा खबर छ ।

