काठमाडौं। धादिङको सलाङघाटबाट त्रिशुलीमा बस खस्दा तीन जनाको मृत्यु भएको छ। सर्लाहीबाट काठमाडौं आउँदै गरेको ना. ६ ७४६९ नम्बरको बस शुक्रबार विहान करिब ३ बजेतिर त्रिशुलीमा खसेको हो।
दुर्घटनामा परी अन्य १२ जना घाईते भएको प्रहरीले जनाएको छ। उनीहरुको उद्दार गरी अहिले नजिकको अस्पतालहरुमा उपचारका लागि लगिएको जनाइएको छ। बसमा करिब ३८ जना यात्रु रहेको तर अहिले सम्म १२ जनाको मात्र उद्दार गरिएको छ। अन्य यात्रुहरुको भने खोजतलास भइरहेको प्रहरीले जनाएको छ।
प्रहरीका अनुसार दुर्घटना भएको स्थल सडकबाट अफ्ठ्यारो ठाउँमा रहेकाले उद्दार कार्यमा कठिनाई भइरहेको छ। दुर्घटनास्थलसम्म जान पनि डोरीको सहायताले झर्नुपर्ने बताइएको छ।
अहिले नेपाल सेना, प्रहरी, सशस्त्र प्रहरी र स्थानीयको सहकार्यमा अन्य घाईतेहरुको उद्दार भइरहेको जनाइएको छ। दुर्घटना के कारण भयो भनी अझै खुल्न सकेको छैन।
तर घटनाको प्रकृति हेर्दा बस चालक निदाएका कारण दुर्घटना भएको अनुमान गरिएको छ।
घटनास्थलमा उद्दार कार्य भइरहेको छ र मृतकको संख्या बढ्न सक्ने अनुमान छ। यो बारेमा विस्तृत विवरण आउन बाँकी छ।

