सोमबार, बैशाख १४, २०८३

भद्रगोल सडकपेटी, पैदल यात्रुको ज्यान नै जाने खतरा

सरकारको चरम बेवास्ताका कारण संघीय राजधानी काठमाडौं उपत्यकासहित देशभरका सडकपेटी पैदल यात्रुका लागि असुविधाजनक मात्र नभएर ज्यान नै जाने जोखिम बनेका छन् ।

सडकपेटीभरी खाल्डाखुल्डी, यत्रतत्र छाडिएका तार तथा पोल र पोल काटेर छाडिएका ठुटाले सडकपेटीमा सहज रूपमा यात्रुले आवतजावत गर्न नपाउँदा पैदल यात्रुका लागि सडकपेटी असुविधा बनेका हुन् ।

पैदल यात्रुका लागि धेरै सडकपेटी खाल्डाखुल्डी र तारजालीमा अल्झिएर घाइते हुने अवस्थाका बनेका छन् ।

पसलका सामान अस्तव्यस्त रूपमा सडकपेटीमा राखिदिँदा पैदल यात्रु सवारी गुड्ने सडकबाट हिँड्न बाध्य भएका छन् भने त्यसले दुर्घटना निम्त्याएर ज्यानै जाने खतरा बढेको छ ।

उपत्यकाका अधिकांश ठाउँमा सडक पेटी नै मिचेर भवन निर्माण गरिएको पाइएको छ भने सरकारले त्यसको व्यवस्थापन गर्नेतर्फ ध्यान दिएको छैन ।

सरकारले सामान्यतया गाडी गुड्ने सडकको मर्मत तथा सम्भारमा ध्यान दिने गरे पनि सडकपेटी व्यवस्थित र यात्रुको सुविधामैत्री बनाउन कम चासो र बेवास्ता गर्दै आएको छ ।

सडक विभागका प्रवक्ता शिवहरी सापकोटाले फुटपाथ यात्रुलाई सहज हुनुपर्ने भए पनि कतिपय ठाउँमा जग्गाको समस्याले व्यवस्थित बनाउन कठिन भएको बताउँछन् ।

उनले यस्तो समस्या उपत्यकामा मात्र नभएर देशैभरी भएको बताए । सडकपेटी मिचेर भवन बनाइएको अवस्थामा भने स्थानीय सरकार दह्रो भएर त्यसलाई व्यवस्थित पार्ने काममा लाग्नुपर्ने उनी बताउँछन् । राजधानी दैनिकमा खबर छ ।