शुक्रबार, बैशाख ०७, २०८१

यस्तो छ कश्मीरको अवस्था

भारतको संविधानको धारा ३७० खारेज गर्दै जम्मु कश्मीर राज्यको विशेष दर्जा समाप्त गरेपछि कश्मीरी जनता स्तब्ध बनेका छन् ।

स्वतन्त्र कश्मीरको आवाज उठाउने कश्मीरी विद्रोहीका लागि त यो झनै ठूलो झट्का बनेको छ । कश्मीरमा आतंकवादी गतिविधि बढेको ठान्ने भारतीय भने सरकारको निर्णयबाट खुसी भएका छन् ।

भारत प्रशासित कश्मीरको विशेष राज्यको दर्जा खोस्नुका साथै धारा १४४ लगाएपछि त्यहाँका जनता चार जनाभन्दा बढीको संख्यामा हिँड्नसमेत पाएका छैनन् भने संसारसँग उनीहरूको सम्पर्क टुटेको छ । सबै टेलिफोन र इन्टरनेट सेवा बन्द गरिएको छ ।

स्कुल र व्यापारिक प्रतिष्ठानसमेत बन्द रहेका छन् भने सडकमा हजारौं सैनिक पहरा दिइरहेका छन् । स्थानीय नेतालाई हिरासतमा राखिएको छ ।

कश्मीरलाई प्राप्त विशेष राज्यको दर्जा हटाइएपछि ठूलो विरोध हुने अनुमान गरिए पनि त्यस प्रकारले विरोध प्रदर्शनहरू भएका छैनन् । भारत सरकारको निर्णयपछि त्यहाँका जनताले कस्तो प्रतिक्रिया जनाइरहेका छन् भन्नेबारेमा केही जानकारी बाहिर आउन सकेको छैन ।

भारत र पाकिस्तान दुवैले दाबी गर्ने कश्मीर भारत र पाकिस्तानले बाँडेर लिएका छन् भने कश्मीरको केही भाग चीनतर्फ पनि छ । भारत प्रशासित कश्मीरमा लामो समयदेखि विद्रोह जारी छ । जसका कारण हजारौं निर्दोष कश्मीरी जनताले ज्यान गुमाएका छन् ।

भारत प्रशासित जम्मु कश्मीरभन्दा पाकिस्तान प्रशासित आजाद कश्मीर केही शान्त छ । चीनतर्फ रहेको कश्मीरको भूभाग खासगरी चर्चामै आउँदैन ।

कश्मीरको अवस्था यस्तो बनेको छ कि उनीहरू घरबाट बाहिर निस्कन मात्रै होइन, एक स्थानमा रहेका आफ्ना परिवारका सदस्यले अर्को स्थानमा रहेका परिवारका सदस्यसँग समेत सम्पर्क गर्न पाएका छैनन् ।

दिल्लीमा रहेका कश्मीरी विद्यार्थीले आफ्नो परिवारको अवस्था थाहा पाउन स्थानीय प्रहरी कार्यालयमा समेत सम्पर्क गर्ने प्रयास गर्दा पनि असफल भएको बताएका छन् । कश्मीर यतिबेला विश्वकै सबैभन्दा बढी सैनिक तैनाथ गरिएको क्षेत्र हो । अवस्था खराब हुने आशंकामा स्थानीयवासी खाद्यान्न जोहो गर्न लागेका छन् ।

जम्मु कश्मीरलाई विशेष राज्यको दर्जा दिने भारतीय संविधानको धारा ३७० खारेज गरेपछि सोमबार साँझ नै त्यहाँका शीर्ष नेताहरूलाई हिरासतमा लिइएको छ । जम्मु कश्मीरका पूर्वमुख्यमन्त्री महबुबा मुफ्ती र उमर अब्दुल्लाहसहितका नेतालाई सोमबार साँझ नै हिरासतमा लिएर श्रीनगरस्थित सरकारी गेस्ट हाउस ‘हरि निवास’मा राखिएको छ ।