सोमबार, बैशाख १४, २०८३

रंगेहात पक्राउ गरेका वीपी स्वास्थ्य प्रतिष्ठानका उपकुलपति धरौटी बुझाएर छुटे

काठमाडौं । घुससहित रंगेहात पक्राउ गरेका बीपी कोइराला स्वास्थ्य विज्ञान प्रतिष्ठान धरानका उपकुलपति प्रा.डा.राजकुमार रौनियार र डा. रामहरि रौनियारलाई धरौटीमा छाड्न अदालतले आदेश दिएको छ ।

विशेष अदालतका न्यायाधीश बाबुराम रेग्मी, द्वारिकामान जोशी र प्रमोदकुमार श्रेष्ठ वैद्यको इजलासले दुवैलाई धरौटीमा छाड्न आदेश दिएको हो ।
अदालतका उपरजिष्टार पुष्पराज पाण्डेले राजकुमार र रामहरिलाई क्रमशः ४८ लाख र ४ लाख रुपैयाँ धरौटीमा छाड्न आदेश दिएको बताए ।

उनीहरुले धरौटी वापतको रकम अदालतमा बुझाइसकेका छन् ।यसअघि २६ असारमा रौनियारद्वय ८ लाख रुपैयाँ घुससहित उपकुलपति निवास धरानबाट पक्राउ परेका थिए । उपकुलपति रौनियारविरुद्ध ९ साउनमा आयोगले १ करोड २८ लाख रुपैयाँ बिगो दाबीसहित भ्रष्टाचार कसूरमा मुद्दा दायर गरेको थियो भने उनका भतिज रामहरिविरुद्ध ८ लाख रुपैयाँ बिगो दाबी गरिएको थियो ।

आयोगका अनुसार श्याम सुन्दर निर्माण सेवा प्रा.लि.का सब कन्ट्याक्टर गिना एवं गिना कन्स्ट्क्सन कम्पनीका प्रबन्ध निर्देशनक सुशीलकुमार झासँग रौनियारद्वयले घुस लिएका थिए ।