बिहिबार, बैशाख १३, २०८१

सडकमा पहिरोको वितन्डा

कर्णाली प्रदेशको राजधानी वीरेन्द्रनगरमा १६ वटा वडा छन्। बर्खा लागेसँगै यहाँका चारवटा वडासँग सडक यातायातको सम्पर्क टुट्छ।

पाँच वर्षअघि वीरेन्द्रनगरसँग गाभिएका गढी, गर्पन र रतुका बासिन्दा वर्षा सुरु भएसँगै यातायातको सुविधाबाट वञ्चित हुने गर्छन्।

प्रदेश राजधानीभित्र एक सय ७५ किलोमिटर सडक छ। त्यसमा कालोपत्रै गरिएको सडक ४२ किलोमिटर मात्रै छ। ‘बर्खा लागेसँगै यहाँका अधिकांश सडक सञ्चालन हुन छाड्छ, वीरेन्द्रनगरनगरपालिका–१३ का आरपी लामिछानेले भने, ‘राजधानीभित्रकै सडकको यो अवस्था छ भने बाहिरको के होला ?’

३० हजार तीन सय १३ वर्ग किलोमिटर भूगोल रहेको कर्णाली प्रदेशमा दुई हजार तीन सय ५२ किलोमिटर सडक छ।

प्रदेश ट्राफिक प्रहरी कार्यालयको तथ्यांकअनुसार कालोपत्रे सडकको लम्बाइ ६ सय ३२ किलोमिटर मात्रै छ। तीन सय ४७ ग्राभेल सडक छ भने एक हजार तीन सय ७३ किलोमिटर सडक कच्ची अवस्थामा छ।

‘कच्ची र ग्राभेल सडक मात्रै होइन, यो प्रदेशमा कालोपत्रे सडकमा पनि बर्खामा गाडी गुड्न समस्या हुन्छ,’ प्रदेश ट्राफिक प्रहरी कार्यालयका प्रहरी निरीक्षक मेघराजप्रसाद चौरसियाले भने, ‘भएका सडकको स्तरोन्नति नहुँदा यात्रुहरूलाई समस्या हुने गरेको छ। ’

बर्खा लागेसँगै कर्णालीका ग्रामीण सडकहरू अवरुद्ध छन्। वडाबाट पालिकाको केन्द्र, पालिकाको केन्द्रबाट सदरमुकाम र सदरमुकामबाट प्रदेश राजधानी जोड्ने सडकहरू अवरुद्ध बनेका हुन्। नागरिक दैनिकमा खबर छ ।