सोमबार, बैशाख १४, २०८३

लिखु तामाकोशी गापा अध्यक्षको कार्यप्रति सदस्यहरुद्धारा घोर निन्दा

कैलाश खत्री,रामेछाप । रामेछापको लिखु तामाकोशी गाउँपालिकाका कार्यपालिका सदस्यहरुले पत्रकार सम्मेलनको आयोजना गरेका छन् । सदरमुकाम मन्थलीस्थित जिल्ला समन्वय समितिको सभाहलमा पत्रकार सम्मेलनको आयोजना गरेका हुन् ।
साउन १६ गते विहिबार गाउँपालिकको कार्यालय धोवी बजारमा भएको घट्ना सम्वन्धि जानकारी दिन पत्रकार सम्मेलनको आयोजना गरिएको हो ।

गाउँ कार्यपालिका वैठक चलिरहेको बेला प्रस्तावमाथी दफावार छलफल हुने क्रममा आफ्नो प्रस्ताव स्विकार नगरेको भन्दै अध्यक्ष गोविन्द वहादुर खड्काले लिखु तामाकोशी गाउँपालिका वडा नम्वर ७ का अध्यक्ष सुवास बोहोरा माथी कुर्सी उचाली अमर्यादित व्यवहार गरेको भन्दै कार्यपालिकाका सदस्यहरुले घटनाको घोर निन्दा एवं भत्र्सना गरेका छन् । पत्रकार सम्मेलनमा लिखु तामाकोशी गाउँपालिका उपाध्यक्ष दिपशिखा दाहालसहित गाउँ कार्यपलिकाका १२ जना सदस्यहरु सहभागी भएका थिए ।

पत्रकार सम्मेलनमा वोल्दै गाउँकार्यापालिका सदस्य समेत रहेका वडा नम्वर ७ तिल्पुङका अध्यक्ष सुवास वोहोराले उज्यालो लिखु अभियान अन्तर्गत विद्युतिकरण भएका गाउँको बारेमा गाउँपालिका अध्यक्ष खड्काले दवाव दिएको र आँफुहरुले स्विकार नगर्दा आक्रमण गरेको बताए । अध्यक्ष खड्काले विद्युतिकरणमा ६ करोठ ९५ लाख रुपैया रकम अपुग भएको भनी सो रकम गाउँ कार्यपालिका बैठकले अनुमोदन गर्नैपर्छ भनी अडान प्रस्तुत गरेका वडाध्यक्ष बोहोराको भनाई छ । विद्युतिकरणको विषयमा स्थलगत अनुगमन गर्नुपर्छ भनी बोल्दा गाउँपालिका अध्यक्षले अनुगमन गर्न मिल्दैन भनि प्रतिवाद गरेको उनको प्रष्टोक्ति थियो । उनले भने “विद्युतिकरणको कागजी प्रक्रिया नहेरी कसरी कार्यपालिकाले सिधै पैसा दिने निर्णय गर्न सक्छ्,त्यसो गर्दा हामी पनि कानुनि कठघरामा उभिनुपर्छ,हामी त्यसो गर्न सक्दैनौँ,सत्य कुरा यही हो ।”

यता गाउँपालिका प्रमुख प्रशासकिय अधिकृत भुपेन्द्र राई गाउँपालिका कार्यलय धोवि बजारमा बस्न असुरक्षा भएको भन्दै सदरमुकाम मन्थली आएका छन् । त्यस्तै गाउँकार्यपालिका सदस्यहरुले पनि पत्रकार सम्मेलनमा आँफुहरु असुरक्षित रहेको समेत गुनासो गरेका थिए ।