शनिबार, बैशाख ०८, २०८१

१२ वर्षमा बिहे, १३ मा आमा

चन्दनिया देवी सदा १६ वर्षकी भइन्। उनको विवाह तीन वर्षअघि भएको थियो। अहिले काखमा छोरो छ भने गर्भमा अर्को बच्चा।

शारीरिक रूपमा कमजोर देखिएकी चन्दनियालाई ढेडवर्षे छोरो सम्हाल्न गाह्रो छ। गर्भको बच्चा सात महिना पुगिसकेको छ। चन्दनियालाई परिवार नियोजनका साधनबारे जानकारी छैन। यसबारे सोध्दा उनी लजाउँछिन् मात्र।

महोत्तरी मनरा सिसवा नगरपालिका-१० मधवा टोलका मुसहरी बस्तीमा अधिकांश छोरीको बिहे १० देखि १२ वर्षकै उमेरमा हुन्छ। बिहे भएको एकदुई वर्षमै आमा बनेपछि उनीहरू शारीरिक रूपमा कमजोर हुन्छन्। सन्तान पनि कुपोषित छन्।

सोमित्रादेवी सदाले दुई वर्षअघि बुहारी भित्र्याइन्। छोरा रामबाबु सदाको उमेर १६ वर्षको थियो। बुहारी इन्दिरा १२ वर्षकी थिइन्। इन्दिराले छोरी जन्माइसकेकी छन्। सुमित्राले खुसी हुँदै भनिन्, ‘आब एगो पोताके रस्ता देखैछियै (अब एउटा नातिको बाटो कुर्दै छु)।’