सोमबार, बैशाख १४, २०८३

कमिटी गठनमै अल्झियो नेकपा

सत्तारूढ नेकपाले पार्टी एकतापछिको हरेक कमिटीको संगठनात्मक एकता र नेतृत्व चयन गर्दा नयाँ नयाँ विवाद झेल्दै आएको छ। केन्द्रीय कमिटी चयनपछि हरेक कमिटी निर्माणमा अध्यक्षद्वय केपी ओली र पुष्पकमल दाहाल विवादमा पर्दै आएका छन्।

प्रदेश पदाधिकारी चयनलगायत पार्टीभित्रका हरेक संगठनात्मक एकताको निर्णय लिँदा नेतृत्वले विवाद झेल्नुपरेको हो। पछिल्लो चरण स्कुल विभागको नेतृत्व टुंगो लगाउन अध्यक्षद्वयलाई निकै सकस परेको छ।

नेकपा स्थायी समिति सदस्य भीम रावल पार्टी नेतृत्वले आफूले चाहेका व्यक्तिलाई नेतृत्वमा ल्याउन खोज्दा मतभेद भइरहेको बताउँछन्। उनले एकीकरण प्रक्रिया टुंगामा नपुग्दा संगठनमा नकारात्मक असर परिरहेको बताए।

‘पार्टी एउटा विधि, प्रणाली र प्रक्रियाबाट बलियो रूपमा अगाडि बढ्ने चरणमा नपुगिसकेको अवस्थाले अमुक–अमुक विभाग अमुक व्यक्तिको हातमा जाँदा अमुक कुरामा प्रभाव पर्न सक्छ भनेर अमुक व्यक्तिलाई लागेको हुन सक्छ। त्यसको अभिव्यक्तिका रूपमा अहिलेको मतभेद प्रकट भएको हुन सक्छ’, रावलले भने, ‘एकीकरण प्रक्रियामा विलम्ब हुनु राम्रो होइन। यसले पार्टीको संगठनात्मक काम र गतिविधिमा ज्यादै नकारात्मक असर पारेको छ।’ अन्नपूर्ण पोष्टमा खबर छ ।